
संघीय सरकारले हालैको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाहरू पुनर्निर्माण गर्न सबै क्षेत्रबाट सहयोग गर्न आह्वान गरेको छ।
अर्थ मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली, मित्रराष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थालाई पुनर्निर्माण अभियानमा सहभागी हुन आग्रह गरेको हो।
यसका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको छ।
सहयोग रकम जम्मा गर्न सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैंकको खाता नं १९६०१००१०२०७०००४ उपलब्ध गराइएको छ।
मन्त्रालयका अनुसार, असोज ५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त कोषमार्फत क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत तथा पुनःस्थापनाका कार्यलाई व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाइनेछ।
अर्थ मन्त्रालयले स्पष्ट पारेको छ कि आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी भवन, पूर्वाधार र अन्य संरचनामा ठूलो मात्रामा क्षति पुगेकाले तत्काल आर्थिक स्रोत जुटाउनु आवश्यक भएको छ।