
नेपाल सरकारले सूचीकरण नगरेका सामाजिक सञ्जालहरूलाई तत्काल प्रभावबाट निष्क्रिय पार्ने निर्णय गरेको छ। बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिँदै फेसबुक, एक्स (Twitter), युट्युब, रेडिट, लिंक्डइनलगायतका ठूला प्लेटफर्महरू बन्द गर्ने तयारी गरेको छ।
सर्वोच्च अदालतको मुद्दा नं. ०८०-CF-००१२ मा भएको निर्देशनअनुसार, नेपालमा सञ्चालन हुन चाहने सामाजिक सञ्जालहरूले सम्बन्धित निकायमा सूचीकरण गर्नुपर्छ। तर, तोकिएको सात दिनको समयसीमा बुधबार राति सकिँदासम्म ठूला कम्पनीहरू सम्पर्कमा आएनन्।
कुन-कुन सञ्जाल चल्नेछन् अब?
सरकारका अनुसार, टिकटक, भाइबर, विटक, निम्बज र पोपो लाइभ पहिले नै सूचीकृत भइसकेका छन्। यस्तै, टेलिग्राम र ग्लोबल डायरीले सूचीकरणका लागि आवेदन बुझाइसकेका छन्।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार, यी ७ बाहेकका सबै सामाजिक सञ्जाल निष्क्रिय गरिनेछ। उनले भने, “सूचीकृत भएलगत्तै ती सञ्जाल पुनः खुल्नेछन्।”
कसरी पुनः खुल्छन् प्रतिबन्धित सञ्जाल?
सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई सूचीकरणका लागि कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ। सूचीकरणका लागि आवेदन दिएर नेपालमा सम्पर्क बिन्दु, गुनासो सुन्ने अधिकारी र स्व-नियमन निकाय तोक्नुपर्नेछ।
