
पाँच सातापछि रेसुंगा विमानस्थलमा नियमित उडान पुनः सञ्चालनमा आएको छ। लगातार खराब मौसमका कारण पाँच साता उडान अवरुद्ध भएपछि बिहीबारबाट सेवा पुनः सुरु भएको हो।
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का रेसुंगा स्टेशन प्रमुख सुमन थापाका अनुसार, विमानस्थलमा साप्ताहिक चार उडानको कार्यतालिका रहे पनि मौसम प्रतिकूलताले गर्दा पछिल्ला दिनमा एक–दुई उडान मात्र भइरहेको थियो।
हाल काठमाडौं–रेसुंगा भाडा प्रति यात्रु रु. ७,५०० र रेसुंगा–काठमाडौं भाडा रु. ७,३०० कायम गरिएको छ।
वर्षायाममा विमानस्थल वरपर बाक्लो कुहिरो रहने र दृश्यता कमजोर हुने भएकाले जहाज अवतरणमा समस्या हुने गरेको प्रमुख थापाले जानकारी दिए।
नेपाल एयरलाइन्सको ट्विनअटर विमानले २०८० वैशाखदेखि नियमित उडान सञ्चालन गर्दै आएको छ। हाल बिहान ६:३० बजे काठमाडौं–रेसुंगा र ७:४० बजे रेसुंगा–काठमाडौं उडान हुने कार्यतालिका रहेको छ।
रेसुंगा नगरपालिकाको पहलमा विमानस्थलबाट नियमित उडान सञ्चालनको तयारी गरिएको थियो।