
चर्चित चलचित्र ‘फर्की फर्की’मा अभिनेता अनमोल केसीले प्रयोग गरेको मोबाइल नम्बर आफूको रहेको आरोप लगाउँदै कलाकार तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन्।
श्रेष्ठले भने, “फिल्म रिलिज भएयता १३ महिनादेखि मेरो मोबाइल नम्बर अनमोल केसीको नम्बर भनेर फिल्म हेर्नेहरूले फोन गरिरहेका छन्। मैले पटक-पटक सो नम्बर हटाउन अनुरोध गर्दा पनि नहटाई निरन्तर दुविधा भइरहेको छ।”
उनका अनुसार, फिल्म ‘फर्की फर्की’को प्रचारमा समेत त्यो नम्बर प्रयोग भइरहेकाले उनलाई मानसिक तनाव पुगेको छ। ७८ वर्षका श्रेष्ठले यो कार्य ‘दुरुपयोग’ र ‘क्राइम’ भएको बताए।
श्रेष्ठले फिल्मका निर्देशक सुयोग गुरुङ, निर्माता रोहित अधिकारी, सेन्सर बोर्ड तथा अभिनेता अनमोल केसीलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका छन्। उनले भुवन केसीलाई पनि समस्या बताएको भए पनि कुनै कारबाही नभएको गुनासो व्यक्त गरेका छन्।
“मैले सुरुदेखि नै यो नम्बर मेरो हो र यसले मेरो सामाजिक र व्यक्तिगत जीवनमा असर गरेको छ। फिल्म टिमले संवेदनशील भएर तत्काल आवश्यक कदम चाल्नु पर्छ,” श्रेष्ठले भने।
मुद्दामा क्षतिपूर्ति र उचित कारबाहीको माग गरिएको छ।