Join our Channel

पूर्वराष्ट्रपति भण्डारीको जवाफ : कार्यकर्तासँग भेट्न एमालेको अनुमति चाहिन्छ र?

पूर्वराष्ट्रपति भण्डारीको जवाफ : कार्यकर्तासँग भेट्न एमालेको अनुमति चाहिन्छ र?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का कार्यकर्तासँग भेट्न कुनै अनुमति आवश्यक नपर्ने स्पष्ट पार्दै आफू सक्रिय राजनीतिमा रहँदै आएको बताएकी छन्।

मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भण्डारीले भनिन्,
“मैले कार्यकर्तासँग भेट्न एमालेको इजाजत लिनुपर्छ र? म त संगठित सदस्य नभएको बेलादेखि नै पार्टीमा सक्रिय थिएँ। चिनजान पनि धेरैसँग छ, त्यसैले नेताहरूले कार्यक्रममै निम्त्याउनु स्वाभाविक हो।”

उनले थप भनिन्, “राष्ट्रपति हुनु अघि पनि म पार्टीको गतिविधिमा सहभागी थिएँ। अहिले समाजसँग साक्षात्कार गर्नु, जनताको विचार बुझ्नु मेरो कर्तव्य हो। नयाँ पुस्ताका लागि देशको सेवा गर्दै बाँचुन्जेल संघर्ष गर्नुपर्छ भन्ने मेरो सोच हो।”

एमालेभित्र आफू गुट निर्माण गरिरहेको भन्ने आरोपबारे प्रतिक्रिया दिँदै उनले भनिन्,
“म कहिल्यै गुट बनाउने स्वभावकी छैन। अध्यक्ष ओलीले मलाई ताकेर भनेको जस्तो मलाई लाग्दैन। उहाँले सायद त्यस्तो भन्नुभएको पनि होइन होला। तपाईँहरू पत्रकारले त्यसरी अर्थ लगाउनुभएको हो कि?”

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले हालै कार्यकर्ताहरूलाई गुटबन्दी नगर्न चेतावनी दिएका थिए। यही सन्दर्भमा पूर्वराष्ट्रपति भण्डारीको गतिविधिलाई लिएर चर्चा चुलिएको हो।

पूर्वराष्ट्रपति भण्डारीले मोरङ र सुनसरीमा चार दिन बिताएपछि मंगलबार काठमाडौं फर्केकी हुन्।

भण्डारी दुई कार्यकाल राष्ट्रपति भइसकेकी छिन्। पहिलोपल्ट २०७२ साल कात्तिकमा र दोस्रोपटक २०७४ साल फागुनमा राष्ट्रपति बनेकी भण्डारी २०७९ फागुनमा शीतल निवासबाट बिदा भएकी थिइन्। त्यसयता उनले पुनः सक्रिय राजनीतिमा फर्किने संकेत दिँदै आएकी छिन्, जसले एमालेभित्र चर्चा तातेको छ।

यता, अध्यक्ष ओलीले भने हालसम्म पार्टीभित्र कुनै निर्णय वा छलफल नभएको जनाउँदै ‘फलाना आउँदै छन्’ भन्ने कुरा अफवाह मात्रै भएको बताएका छन्।
“को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष भनेर केही नतोकिएको, महाधिवेशन पनि घोषणा गरिएको छैन,” ओलीले केही दिनअघि स्पष्ट पारेका थिए।

Leave a comment