
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपालको व्यापार घाटा झनै बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो मासिक प्रतिवेदनअनुसार यो अवधिमा व्यापार घाटा १२ खर्ब ५६ अर्ब २८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.७ प्रतिशतले बढी हो।
निर्यातमा वृद्धि, तर आयात अझै धेरै
यस आर्थिक वर्षको १० महिनामा कुल निर्यात ७२.७ प्रतिशतले वृद्धि भएर २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने निर्यातमा ३.६ प्रतिशतले कमी आएको थियो।
गन्तव्य मुलुकअनुसार भारततर्फको निर्यात १०४.७ प्रतिशत, चीनतर्फ ५.१ प्रतिशत र अन्य मुलुकतर्फ ४.२ प्रतिशतले वृद्धि भएको छ।
निर्यात बढेका र घटेका वस्तुहरू
भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, पिना लगायतका वस्तुको निर्यातमा उल्लेख्य वृद्धि देखिएको छ।
तर, पाम तेल, तयारी पोसाक, जिंक सिट, जुस र अलैंचीको निर्यातमा कमी आएको राष्ट्र बैंकले जनाएको छ।
आयात १३.१ प्रतिशतले बढ्यो
आर्थिक वर्षको पहिलो १० महिनामा आयात १३.१ प्रतिशतले बढेर १४ खर्ब ७४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात २.४ प्रतिशतले घटेको थियो।
भारत, चीन र अन्य मुलुकबाट क्रमशः ७.९%, १५.१% र २८.३% ले आयात बढेको हो।
बढेका र घटेका आयात वस्तुहरू
भटमासको कच्चा तेल, चामल/धान, खाने तेल, यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्ट्स, स्पन्ज आइरनको आयात बढेको छ।
तर, पेट्रोलियम पदार्थ, सुन, विद्युत उपकरण, रासायनिक मल, कोइला जस्ता वस्तुको आयात घटेको देखिएको छ।
मुख्य नाका र भन्सार कार्यालयहरूबाट आयात–निर्यात
जलेश्वर, कञ्चनपुर र तातोपानीबाहेकका मुख्य नाकाबाट निर्यात बढेको छ।
आयाततर्फ भने भैरहवा, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा, त्रिभुवन विमानस्थललगायतका प्रमुख भन्सार कार्यालयहरूबाट आयातमा वृद्धि भएको छ।
निर्यात–आयात अनुपात अझै कमजोर
समीक्षा अवधिमा निर्यात–आयात अनुपात १४.८ प्रतिशतमा पुगेको छ, जुन अघिल्लो वर्षको ९.७ प्रतिशतभन्दा केही सुधारिएको भए पनि अझै पनि निकै कमजोर अवस्था देखिन्छ।
भारतीय मुद्रा भुक्तानी गरेर १.५२ खर्ब बराबरको वस्तु आयात
भारतबाट परिवर्त्य विदेशी मुद्रा प्रयोग गरी १ खर्ब ५२ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ। अघिल्लो वर्ष यो रकम १ खर्ब २२ अर्ब २ करोड रहेको थियो।