
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको अवस्थामा निष्पक्ष निर्वाचन र संविधानको रक्षा नै सबैको मुख्य जिम्मेवारी भएको बताएका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत् अपिल गर्दै उनले भने कि, निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सरकारले कहीं कतै अलमलिनु नहुने र भयरहित वातावरणमा समयमै निष्पक्ष निर्वाचन सम्पन्न गर्न वातावरण सुनिश्चित गर्नुपर्नेछ।
थापाले कांग्रेसका नेता–कार्यकर्तालाई अपिल गर्दै भने, “अन्तरिम सरकार गठन भइसकेको छ, निर्वाचन मिति घोषणा भइसकेको छ। जिम्मेवार लोकतान्त्रिक पार्टीको रूपमा तोकिएको समयमा निर्वाचन सुनिश्चित गराऔं र निर्वाचन गराउने सरकारलाई सहयोग गरौं। कहीं कतै सरकार मूल जिम्मेवारीबाट विचलित भए खबरदारी गरौं।”
उनले जेन–जी आन्दोलनपश्चात सिर्जना भएको नयाँ राजनीतिक परिस्थितिलाई स्वीकार गर्दै भने कि, प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय सरकार कायम छन्। संविधानका आधारभूत मूल्य र लोकतान्त्रिक संस्थाको सुरक्षा सबैको मुख्य जिम्मेवारी हो।
थापाले जेन–जी आन्दोलनको क्रममा भएको राज्य दमन र विध्वंश/आगजनीको क्षति संकलन गरी दोषीलाई दण्डित गर्नुपर्ने आवश्यकता औंल्याए।
साथै, उनले पार्टीको पुनर्गठन अभियान सुरु गर्नुपर्ने जोड दिँदै भने, “संविधान दिवसकै दिनदेखि संकल्पसहित पुनर्गठन अभियान सुरु गरौं। जेन–जी आन्दोलनले उठाएको भ्रष्टाचारमुक्त नेतृत्व सुनिश्चित गर्न पार्टी सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रिया र हाम्रा मुद्दा तथा शैली सबैमा आमूल सुधार आवश्यक छ।”