Join our Channel

गगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यात्रुहरू रोकिए

गगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यात्रुहरू रोकिए

शुभकालिका–१ गगने खोलामा गएराति परेको वर्षासँगै पहिरो जाँदा कर्णाली राजमार्ग बुधबार बिहानदेखि अवरुद्ध भएको छ। लेदो र ढुङ्गासहित झरेको पहिरोले यात्रुहरूलाई सास्ती दिइरहेको छ।

कालिकोट जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरबहादुर सुनारका अनुसार, बुधबार बिहान ३ बजेदेखि राजमार्ग अवरुद्ध छ। “हिजो बेलुकीदेखिको वर्षाले बिहान पहिरो गएको हो। जेसीभी मेसिन लगाएर पहिरो पन्छाउने प्रयास भइरहेको छ,” उनले बताए।

गगने खोलामा फेरि पहिरो गएपछि सुर्खेत जाने गाडीहरू ८ किमि वर हुल्ममा, र सुर्खेतबाट आएका गाडीहरू मालाचौरमा रोकिएका छन्। सुनारका अनुसार, असारयता गगने खोलामा २८ पटक पहिरो झरी सडक ३७ दिनसम्म अवरुद्ध रहिसकेको छ। पानी रोकिएपछि करिब २–३ घण्टामा सडक खुल्ने अपेक्षा गरिएको छ।

स्थानीयहरू भन्छन् कि यहाँको पहिरोले कर्णालीबासीलाई निकै सास्ती दिएको छ। अछामको भानाकोट हुँदै खुलालु जोड्ने वैकल्पिक सडक निर्माण गर्नुपर्ने माग उठेको छ।

नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराका अनुसार, “दिनहुँ झर्ने पहिरोले निकै दुःख पाइयो। वैकल्पिक मार्गका रूपमा दैलेखको राकम पुल तरेर अछामको चिल्ताडा–भानाकोट हुँदै खुलालु जोड्ने सडक खोल्नुपर्छ। पल्लो छालबाट सडक ल्याउन अछामको विनायक पञ्चदेवल नगरपालिका र नरहरिनाथ गाउँपालिकाले सहकार्य गरेर सरकारलाई दबाब दिनुपर्नेछ।”

Leave a comment