Join our Channel

कात्तिक शुक्ल प्रतिपदा आज : गाई र गोरुको पूजा गर्दै मनाइँदै गाई तिहार र गोवद्र्धन पूजा

कात्तिक शुक्ल प्रतिपदा आज : गाई र गोरुको पूजा गर्दै मनाइँदै गाई तिहार र गोवद्र्धन पूजा

आज कात्तिक शुक्ल प्रतिपदा, अर्थात् तिहारको चौथो दिन गाई र गोरुको पूजा गरी देशभर मनाइँदै छ। वैदिक सनातन परम्पराअनुसार गाईलाई पवित्र जनावर मानिँदै आएको छ र यस दिन गाई र गोरु दुवैको पूजा गरी उनीहरूलाई मीठा परिकार खुवाइन्छ।

गाईलाई हिन्दू धर्ममा ‘माताको रूपमा’ मान्ने परम्परा पुरानो वैदिक युगदेखि चलिआएको हो। स्थानीय जातका गाईका शरीरमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरमार्फत मानिसमा शक्ति पुर्‍याउने वैज्ञानिक मान्यता पनि रहेको बताइन्छ।

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार औँसी सकिएर प्रतिपदा सुरु भएपछि गाई पूजा गर्नुपर्ने शास्त्रीय परम्परा हो। केही स्थानमा कृष्ण औँसीकै दिन गाईपूजा गर्ने प्रथा भए पनि वैदिक मान्यताअनुसार प्रतिपदाको दिन नै गाईपूजा गर्न उपयुक्त मानिन्छ।

गाईको पूजा गरी मीठा परिकार अर्पण गरेमा त्यसबाट प्राप्त हुने पवित्रता वर्षभर टिक्ने विश्वास छ। साथै, आजको दिन गोरुको पनि पूजा गरी हलो जोतेर कृषि कर्ममा सहयोग पुर्‍याउने गोरुलाई मीठा खान दिनु शुभ मानिन्छ। हलो जोत्ने हलीलाई पनि पूजा गरी सम्मान र भोजन गराइने परम्परा रहेको छ। त्यसैले आजलाई गाई तिहारहली तिहार पनि भनिन्छ।

धार्मिक विश्वासअनुसार साउन शुक्ल पूर्णिमाका दिन बाँधिएको रक्षाबन्धनलाई आज गाईको पुच्छरमा बाँधिदिँदा मृत्युपश्चात् गाईले वैतरणी नदी पार गराइ स्वर्ग जाने मार्ग सहज बनाइदिन्छ भन्ने विश्वास छ।

तिहारलाई यमपञ्चक पनि भनिन्छ, जसमा पाँच दिन क्रमशः काग तिहार, कुकुर तिहार, गाई (लक्ष्मी) पूजा, गोरु (गोवद्र्धन) पूजा र भाइटीका मनाइन्छ। भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइदिई दीर्घायुको कामना गर्छन् भने दाजुभाइले दिदीबहिनीलाई उपहार र आशीर्वाद प्रदान गर्छन्।

हिन्दू धर्मशास्त्रअनुसार, सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी पाँच दिनसम्म बहिनीको घरमा बसेकाले तिहारलाई यमपञ्चक भनिएको हो।

Leave a comment