Join our Channel

गण्डकीका पहाडी गाउँमा फलफूल बगैंचा, किसान फर्किँदै खेतीतर्फ

म्याग्दीको बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकासहित गण्डकी प्रदेशका १० जिल्लाका ३४ स्थानीय तहमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) सुरु भएको छ।

आयोजनाको विस्तार र उद्देश्य

कास्कीको पोखरा महानगर र पर्वतको जलजला गाउँपालिकामा दुई वर्षअघि सुरु भएको आयोजना, चालु आर्थिक वर्ष २०८२/८३ मा ३४ स्थानीय तहमा विस्तार भएको हो।
कुल ९३.४५ मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको आयोजनाले पहाडी क्षेत्रमा ओखर, सुन्तला, कागती, कीवी लगायत १० प्रजातिका फलफूलखेतीलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।

आयोजनाबाट कृषि फार्म, सहकारी र समूहले ५० प्रतिशत अनुदान पाउने व्यवस्था छ। न्यूनतम २० रोपनी जमिनमा नयाँ बगैंचा स्थापना गर्न, बिरुवा रोप्ने, मल, सिँचाइ र कृषि औजार खरिदमा अनुदान उपलब्ध गराइनेछ।

पहिलो चरणको प्रगति

पहिलो चरणमा जलजला गाउँपालिकाका २९ वटा फर्म र समूहले सुन्तलाजात र ओखरखेतीको लागि अनुदान सम्झौता गरेका थिए। ११ वटा फर्मले सुन्तला र दुईले कागतीको बगैंचा स्थापना गरेका छन्।

ओमनम् एग्रो फार्मका संचालक जनक अधिकारी र प्रदीप खत्रीले १० वर्षदेखि बाँझिएको सिरानचौरको खेतमा ४५० कागतीका बिरुवा रोपे, झाडी फाडेर बगैंचा स्थापना गरेका छन्।

किसानको उत्साह र चुनौती

जलजला–५ लेकफाँटका किसानहरू धान खेतीको विकल्पमा सुन्तला र कागती खेतीमा लागेका छन्। तुलसी आचार्यले भने,

“धान, कोदो, मकाइलगायत बालीको तुलनामा कम लगानीमा धेरै वर्षसम्म नगद आम्दानी हुन्छ।”

तर, केही किसानले अनुदान भुक्तानीमा ढिलाइ भएकोमा गुनासो गरेका छन्। आयोजनाका प्रमुख वासुदेव काफ्लेले काम सम्पन्न भएका फर्महरुको अनुगमन सकेपछि तत्काल भुक्तानी दिने प्रतिबद्धता जनाए।

Leave a comment