
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकलाई असफलताबाट जोगाउनका लागि राजनीतिक नेतृत्व युवाहरूलाई दिनुपर्नेमा जोड दिएका छन्।
सोमबार काठमाडौंमा सञ्चारकर्मीसँगको छलफलका क्रममा उनले भने, “मरणोपरान्त सत्ताभोगका लागि दललाई कब्जा गरेर बसेका मुख्य नेताहरूले मुलुकलाई अहिलेसम्मको संकटमा पुर्याएका हुन्। अब मुलुक बचाउन नेतृत्व युवालाई दिनुपर्छ।”
भुसालले मुख्य राजनीतिक दलहरूमा अझैसम्म संस्थागत सुधार र परिणाममुखी पहलकदमी नदेखिएको उल्लेख गर्दै चेतावनी दिए–
यदि अहिलेको परिस्थितिलाई नेताहरूले नजरअन्दाज गर्न खोजे भने मुलुकलाई अर्को ठूलो चक्रबाट बचाउन नसकिने।
उनले भने,
- दलहरू अझै गम्भीर नभए युवाहरूको विरोध आन्दोलन बढ्दै जानेछ।
- यसले अराजनीतिक–अपराधिक समूह र प्रतिगामी शक्तिलाई अवसर दिनेछ।
- त्यसैले वामपन्थी आन्दोलनका सबै इमान्दार राजनीतिकर्मीहरूले तत्कालै सक्रियता लिनुपर्ने आवश्यकता छ।
भुसालले अहिलेको अवस्था मुलुकलाई नयाँ दिशामा लैजाने ऐतिहासिक अवसर भएको टिप्पणी गरे।