Join our Channel

भिजिट भिसा काण्डमा गृहमन्त्री लेखकको संलग्नता? रास्वपाले छानबिन समितिमाथि उठायो गम्भीर प्रश्न

भिजिट भिसा काण्डमा गृहमन्त्री लेखकको संलग्नता? रास्वपाले छानबिन समितिमाथि उठायो गम्भीर प्रश्न

भिजिट भिसा काण्डलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारद्वारा गठन गरिएको उच्चस्तरीय छानबिन समिति अस्वीकार गरेको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले छानबिन समितिको निष्पक्षता प्रति प्रश्न उठाउँदै गम्भीर आरोप लगाए। उनले गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा परोक्ष रूपमा संलग्न रहेको दाबी गरे।

सरकारले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमार्फत पूर्व मुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। तर वाग्लेले वैरागीलाई “सत्ताको प्रिय पात्र” भन्दै आफू नै अनुसन्धानको घेरामा रहेको रहस्यमय पात्र भएको टिप्पणी गरे।

“हाम्रो पार्टीको ठोस निष्कर्ष छ कि गृहमन्त्री लेखकमाथि परोक्ष संलग्नता र प्रत्यक्ष संरक्षणको संकेत देखिएको छ,” वाग्लेले भने। उनले वैरागी स्वयं सक्षम निकायको निगरानीमा रहेको जनाउँदै त्यस्ता व्यक्तिबाट निष्पक्ष छानबिन असम्भव हुने उल्लेख गरे।

“शंकरदास वैरागी सात वर्ष परराष्ट्र सचिव, तीन वर्ष मुख्यसचिव भए। यिनको रहस्यमय बहिर्गमन र टेलिकम घोटालामा भूमिकाले उहाँमाथि शंका उठाउँछ,” उनले भने।

रास्वपाले वैरागी नेतृत्वको समितिमा विश्वास गर्न नसकिने भन्दै समिति पुनरावलोकन नगरे आन्दोलनको चेतावनीसमेत दिएको छ।
रास्वपासँगै राप्रपाले पनि समितिको निष्पक्षता माथि शंका व्यक्त गर्दै गृहमन्त्रीकै प्रस्तावमा बनेको भन्दै आपत्ति जनाएको छ।

वाग्लेले अन्त्यमा भने,
“हामी नयाँ पार्टी हौँ, तर बेवकुफ होइनौँ। गृहमन्त्रीकै प्रस्तावमा समिति बनेको भन्दै गर्व गर्ने व्यवस्था गलत छ। निष्पक्ष छानबिन आवश्यक छ।”

Leave a comment