
नेपाली बजारमा सुनको मूल्यले फेरि पनि नयाँ कीर्तिमान कायम गरेको छ। लगातार वृद्धि हुँदै आएको सुनको मूल्य आज एक तोला २ लाख ३९ हजार २०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १२ सय रुपैयाँले बढेर सुनको मूल्य ऐतिहासिक स्तरमा पुगेको हो।
यसअघि बुधबार २६ सय रुपैयाँले वृद्धि भई एक तोला सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ कायम भएको थियो।
लगातार बढ्दै सुनको मूल्य
वैश्विक बजारमा सुनको मूल्य बढ्दै गएपछि यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको व्यवसायीहरू बताउँछन्।
अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर कमजोर हुनु र लगानीकर्ताहरू सुरक्षित सम्पत्तिप्रति आकर्षित हुनु नै मूल्य बढ्ने मुख्य कारण हो।
चाँदीको मूल्य पनि नयाँ कीर्तिमा
सुनसँगै चाँदीको मूल्य पनि हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। महासंघका अनुसार आज एक तोला चाँदी ३ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सोही परिमाणको चाँदी २ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
विशेषज्ञहरूका अनुसार आगामी दिनमा पनि सुन–चाँदीको मूल्यमा उतारचढाव भइरहने सम्भावना छ।