
सरकारले सबै नागरिकका जायज माग, चासो र सरोकारलाई सम्बोधन गर्न सदैव तत्पर र गम्भीर रहेको जनाएको छ।
गृह मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा धर्ना, जुलुस, प्रदर्शन तथा आन्दोलन नगरी वार्ता र संवादका माध्यमबाट समाधान खोज्न सबैलाई अनुरोध गरेको छ। मन्त्रालयका अनुसार जेनजी समूहको प्रदर्शनपछि गठन भएको वर्तमान सरकार आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीमा केन्द्रित छ।
मन्त्रालयले भनেছে, “देशमा शान्ति सुरक्षा कायम गर्दै घोषित मितिमा स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैको योगदान अपरिहार्य छ।”
विज्ञप्तिमा सरकार निर्वाचनसम्बन्धी कानुन संशोधन, स्रोत-साधनको व्यवस्थापन, राजनीतिक दल र सरोकारवालासँग निरन्तर संवादमा रहेको उल्लेख गरिएको छ।
गृह मन्त्रालयका अनुसार भदौ २३ र २४ गतेको प्रदर्शनपछि सार्वजनिक सेवा पुनः सञ्चालन, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र शान्ति–सुरक्षाको सामान्यीकरण हुँदै गएको छ। तर पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत पुनः धर्ना र प्रदर्शनका आह्वानहरू सार्वजनिक भइरहेका भन्दै मन्त्रालयले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले चेतावनी दिएको छ, “देशमा अस्थिरता निम्त्याउन खोज्ने स्वार्थ समूहहरूले यस्ता कार्यक्रममा घुसपैठ गरी अशान्ति र अराजकता फैलाउन सक्ने भएकाले आयोजकहरू सचेत रहन आवश्यक छ।”
त्यसैगरी, नागरिकका माग राख्दा शान्तिपूर्वक बाँच्ने, निर्बाध सेवा पाउने र निर्वाचनमा भाग लिने अधिकार कुण्ठित नहोस् भन्ने विषयमा समेत मन्त्रालयले जोड दिएको छ।
मन्त्रालयले सबैलाई राष्ट्रिय सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्दै राष्ट्रिय हितको प्रवर्द्धनमा सहयोग गर्न अनुरोध गरेको छ।