
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीभित्र उठाएको सुधार र रिफर्मेसनको एजेन्डा कुनै व्यक्तिविरुद्ध नभई समग्र पार्टीलाई सबल, लोकतान्त्रिक र समयसापेक्ष बनाउन लक्षित रहेको स्पष्ट पारेकी छन्।
शनिबार सामाजिक सञ्जालमा भिडियो मार्फत बोल्दै डा. कार्कीले आफ्नो अभियानलाई पार्टी सभापति रवि लामिछानेको विकल्प खोज्ने प्रयास भनेर गलत व्याख्या गरिएकोमा आपत्ति व्यक्त गरिन्। उनले भनिन्,
“यो भुसको आगो जस्तो सल्केर यसले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै कमजोर बनाउन सक्छ।”
डा. कार्कीले भनिन् कि जेन-जी क्रान्तिले उठाएको भ्रष्टाचारविरुद्ध र सुशासनको मुद्दा पार्टीभित्र स्थापित हुनुपर्नेछ र रास्वपा यथास्थितिवादमा नरहनेमा जोड दिइन्।
उनले पार्टीलाई सबल, लोकतान्त्रिक र समयसापेक्ष बनाउने वैचारिक र सांगठनिक सुधारको आवश्यकता औंल्याइन्। उनले प्रष्ट पारिन्,
“मेरो रिफर्मेसन एजेन्डा व्यक्ति विरुद्धको होइन, पार्टीलाई सुदृढ, सबल र सक्रिय बनाउनका लागि हो।”
डा. कार्कीले आगामी पार्टी विस्तारित बैठकमा सुधार प्रतिवेदनमाथि मतदानको व्यवस्था हुनुपर्ने माग गरेकी छन्, जस अन्तर्गत सहभागीहरूले राय मात्र नभई प्रस्ताव स्वीकार, अस्वीकार वा संशोधन सहित पारित गर्न सक्नेछन्।
उनले पार्टीको केन्द्रीय सचिवालय, पदाधिकारी र समितिको संरचनामा पुनरावलोकन र पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याइन् र यसलाई वैकल्पिक शक्ति, नागरिक समाज र जेनजी पुस्ताको साझा प्लेटफर्म बनाउनुपर्ने धारणा राखिन्।
यथास्थितिमा रहेर पार्टीले बहुमत हासिल गर्न नसक्ने बताउँदै डा. कार्कीले भनिन्,
“यदि हामी यथास्थितिमै चलिरह्यौं भने बहुमतको पार्टी बन्न सक्दैनौँ।”
आफ्नो पेशा र भविष्य छोडेर पार्टी निर्माणमा लागेको स्मरण गर्दै उनले मिथ्या आरोप लगाएर धैर्यको परीक्षा नलिन सबैमा आग्रह गरिन्। साथै व्यक्तिगत आरोपभन्दा माथि उठेर सुधारका मोडालिटीमा बहस गर्न सबैलाई आह्वान गरिन्।