Join our Channel

धुलिखेलको बाझोखेतबाट लागूऔषधसहित दुई जना पक्राउ, स्कार्पियो गाडी पनि बरामद

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले धुलिखेल नगरपालिका–११ स्थित बाझोखेतबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर र अस्थायी प्रहरी पोष्ट काभ्रेभन्ज्याङको संयुक्त टोलीले सवारी साधन जाँच गर्ने क्रममा मे.१ च. ३५९७ नम्बरको स्कार्पियो गाडीलाई रोकेर जाँच गर्दा लागूऔषध भेटिएको हो।

गाडीमा सवार इलाम जिल्ला, रोङ गाउँपालिका–३ का ३२ वर्षीय सुमन राई र गाडी चालक इलाम माई नगरपालिका–१ का २७ वर्षीय तेजकुमार बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार, सुमन राईको साथमा ब्राउन सुगरजस्तो देखिने लागूऔषध फेला परेको हो।

बरामद गरिएको उक्त पदार्थको तौल ९ ग्राम १७० मिलिग्राम रहेको पुष्टि गरिएको छ। प्रहरीले लागूऔषधसहित स्कार्पियो गाडीसमेत बरामद गरेको छ।

हाल दुवै व्यक्तिलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

Leave a comment