
गुल्मी जिल्लामा कफी खेती विस्तारसँगै कफी बिरुवाको माग ह्वात्तै बढेको छ। वर्षात सुरु भएसँगै मुसिकोट नगरपालिका–५ स्थित कफी विकास केन्द्र आँपचौरको नर्सरीमा उत्पादित कफी बिरुवा किसानसम्म पुर्याउन हम्मेहम्मे परेको छ।
कफी विकास केन्द्रका प्रमुख जीवन आचार्यका अनुसार किसानबाट यस वर्ष मात्र दुई लाख कफी बिरुवाको माग परेको छ। तर, नर्सरीमा ७० हजार मात्र बिरुवा उत्पादन भएकाले माग पुरा गर्न समस्या भएको उनले जानकारी दिए।
“हामीसँग स्रोत र जनशक्ति अभाव छ,” आचार्यले भने, “यही कारणले सबै जिल्लाबाट आएको माग पूरा गर्न सकिरहेका छैनौं।”
गुणस्तरीय कफी बिरुवाको उत्पादन र वितरण गर्दै आएको केन्द्रले यस पटक गुल्मीसँगै अर्घाखाँची, स्याङ्जा, कास्की, लमजुङ, धादिङ लगायत ४० भन्दा बढी जिल्लाबाट बिरुवाको माग पाएको जनाएको छ। तर आपूर्तिमा चुनौती बढिरहेको छ।
केन्द्रमा प्रतिविरुवा ४० रुपैयाँमा बिक्री भइरहेको छ। यहाँ बगैंचाको व्यवस्थापन, बीउ उमार्ने, टिप्ने, प्रशोधन गर्ने लगायतका कामहरू भइरहेका छन्। यसै क्रममा ४०–५० जना स्थानीय अस्थायी रूपमा रोजगारी पनि पाउने गरेका छन्।
कफी विकास केन्द्रले आँपचौरमा १८४ रोपनी जमिन खरिद गरेर बगैंचा स्थापना गरिसकेको छ, जहाँ १२ हजार कफी बिरुवा रोपिएको छ। त्यस्तै, छ वटा नर्सरीमा ६० हजार बिरुवा थप रोपिएको जानकारी केन्द्रले दिएको छ।
कफी खेतीमा रोगको समस्या
किसानहरूले हाल सेतो गबारोलाई मुख्य समस्या मानेका छन्। यस रोगका कारण जिल्लामा करिब १५ प्रतिशत कफी बोट नष्ट हुने अवस्थामा पुगेको छ। साथै ढुसी र डढुवाले पनि बिरुवामा असर पुर्याइरहेको किसानहरूको भनाइ छ।
हाल गुल्मी जिल्लामा करिब ३०० हेक्टर क्षेत्रफलमा कफी खेती भइरहेको छ। यस क्षेत्रमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुसन्धान केन्द्र भण्डारीडाँडा लगायत विभिन्न निकायहरू सक्रिय रूपमा कार्यरत छन्।