Join our Channel

काठमाडौं महानगरको निःशुल्क मानसिक स्वास्थ्य जाँच सेवा: तनाव र डिप्रेसनबाट बच्न अब सजिलो उपचार!

काठमाडौं महानगरको निःशुल्क मानसिक स्वास्थ्य जाँच सेवा: तनाव र डिप्रेसनबाट बच्न अब सजिलो उपचार!

काठमाडौं महानगरपालिकाले निःशुल्क मानसिक स्वास्थ्य जाँच सेवा सुरु गरेको छ। यो सेवा हरेक आइतबार र बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म वडा नम्बर ११ बबरमहलस्थित सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट सञ्चालन हुनेछ।

महानगरपालिकाको स्वास्थ्य विभागले तनाव, चिन्ता (एङ्जाइटी), डिप्रेसन र लागुऔषध तथा रक्सीको लतमा परेकाहरूलाई लक्षित गरी यो सेवा प्रदान गरेको छ। वडा ११ का वडाध्यक्ष हीरालाल तण्डुकारका अनुसार, मानसिक समस्याहरू लुकाउने प्रवृत्तिले जोखिम बढाउन सक्ने भएकाले खुला रूपमा उपचार गर्ने वातावरण बनाउन यो सेवा शुरू गरिएको हो।

पाटन अस्पतालकी मनोचिकित्सक डा. अनिमा पराजुलीले अवेग, निराशा, डर, चिन्ता, निद्रा र भोक नलाग्ने जस्ता लक्षणहरू मानसिक समस्याका संकेत भएको बताइन्। समयमै पहिचान गरी उपचार गरेमा मानसिक समस्या नियन्त्रणमा आउन सक्ने उनको भनाइ छ।

पाटन अस्पतालका चिकित्सा मनोविद् अनुपराज भण्डारीले वडास्तरमा विशेषज्ञ सेवा उपलब्ध गराउँदा ठूला अस्पतालहरूमा बिरामीको चाप कम हुने र सेवा गुणस्तरीय हुने बताए। साथै विश्वासिलो व्यक्तिसँग कुरा गर्ने, नियमित व्यायाम गर्ने, पर्याप्त पानी पिउने र मोबाइल प्रयोग कम गर्ने जस्ता सुझाव दिएका छन्।

काठमाडौं महानगरपालिकाले मानसिक स्वास्थ्यको बारेमा जनचेतना फैलाउने र जोखिम कम गर्ने उद्देश्यले यो निःशुल्क जाँच सेवा सञ्चालन गरेको जनाएको छ।

Leave a comment