
गुल्मी – लगातार वर्षाका कारण गुल्मीको रिडी–तम्घास सडकखण्ड पहिरोले अवरुद्ध भएको छ।
मदनभण्डारी राजमार्ग अन्तर्गत रेसुंगा नगरपालिका–१३ को भँगारी खोलामा पहिरो खस्दा आज बिहानदेखि सडकमा आवागमन पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारुका अनुसार सडक खुलाउने प्रयोजनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। यस्तै, रेसुंगा नगरपालिकाले पनि पहिरो हटाउन जेसीबीलगायत उपकरण पठाइसकेको नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिए।
सडक अवरुद्ध भएपछि सदरमुकाम तम्घासबाट बाहिरिने तथा भित्रिने सवारी साधनहरु बाटोमै रोकिएका छन्। प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने कार्य तीव्र गतिमा भइरहेको छ।