Join our Channel

आज गुरु पूर्णिमा र व्यास जयन्ती, देशभर गुरुजनको सम्मानमा कार्यक्रम

आज गुरु पूर्णिमा र व्यास जयन्ती, देशभर गुरुजनको सम्मानमा कार्यक्रम

आज आषाढ शुक्ल पूर्णिमाका दिन देशभर गुरु पूर्णिमा तथा व्यास जयन्ती मनाइँदैछ ।

गुरु पूर्णिमा पर्वमा आज शिक्षादाता, वेद मन्त्र सुनाउने, दीक्षा दिने गुरुजनप्रति श्रद्धा र सम्मान प्रकट गरिन्छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुने मानिन्छ । यसैले ज्ञानरूपी प्रकाशले अज्ञानको अन्धकार हटाउने व्यक्तिलाई गुरु मानिन्छ ।

धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार शास्त्रमा गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप मानिएको छ । त्यसैले विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ:

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर ।
गुरुः साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः ।।

यस दिन विद्यालयहरू, गुरुकुल, संघ-संस्थाहरूमा गुरुजनप्रति श्रद्धाभाव व्यक्त गर्दै विविध कार्यक्रम गरिन्छ ।

यही अवसरमा आज व्यास जयन्ती पनि मनाइन्छ । वेदव्यासले वेदहरूलाई चार भागमा विभाजन गरी ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद बनाएर यसको व्याख्या गर्न १८ पुराण र १८ उपपुराण रचना गरेका थिए ।

वेदव्यासको सम्झनामा आषाढ शुक्ल पूर्णिमाका दिन व्यास जयन्ती मनाइन्छ । महाभारतजस्तो महाकाव्यका रचयिता समेत रहेकाले उनी ‘पञ्चम वेद’का स्रष्टा मानिन्छन् ।

व्यासले पुराणमार्फत मानवतावादी सन्देश दिन खोजेका छन्:
अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकारः पुण्याय पापाय परपीडनम् ।।

अर्थात्, अरूको भलो गर्नु पुण्य हो, अरूलाई दुःख दिनु पाप हो भन्ने सन्देश दिन खोजिएको हो ।

देशभरका गुरुकुल, शिक्षालय र संघ-संस्थाहरूमा आज गुरु पूर्णिमा र व्यास जयन्ती विशेष कार्यक्रमसहित मनाइँदैछ ।

Leave a comment