Join our Channel

पूर्व राजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैंको टीका नलगाउने, कारण बताए संवेदनशील अवस्था

पूर्व राजा ज्ञानेन्द्र शाहले यस वर्षको दसैंमा सर्वसाधारणलाई सार्वजनिकरूपमा टिका नलगाइदिने निर्णय गरेका छन्।
उनले जारी गरेको शुभकामना सन्देशमा भनेका छन्, “जेन–जी आन्दोलनका क्रममा सहिद भएका घटनाले आमनागरिक शोकमग्न छन्। यस्तो संवेदनशील परिस्थितिमा वृहत्तरुपमा टीका–जमरा लगाइदिने कार्यक्रम नगर्ने निर्णय गरिएको हो।”

शुभकामना सन्देशमा उनले भनेका छन् –
“सही, सत्य, अग्रजहरूको आदर, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने चेत हामी सबैमा हुनैपर्छ। अबको नयाँ पुस्ताले आशा, विश्वास र भरोसाका साथ अघि बढोस् भन्ने हाम्रो कामना हो। यस वर्ष भने परिवार र सांस्कृतिक परम्परागत रुपमा मात्रै दशैं मनाइनेछ।”

शाहले नेपाललाई सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रुपमा प्रस्तुत गर्दै पूर्वजहरूको त्याग र बलिदानकै कारण नेपाल अखण्ड र सार्वभौम बनेको उल्लेख गरे। उनले नयाँ पुस्तालाई देशभक्तिको भावना, उर्जा र नवीन सोचसहित देशलाई समृद्ध बनाउन आग्रह गरे।

उनको भनाइमा, “हामीले बिगार्ने होइन, अब सपार्ने तर्फ लाग्नुपर्छ। यही समयको माग हो।”

Leave a comment