Join our Channel

२९ जनाले मात्रै हस्ताक्षर फिर्ता लिएका हुन् : गगन थापा समूहको स्पष्टोक्ति

२९ जनाले मात्रै हस्ताक्षर फिर्ता लिएका हुन् : गगन थापा समूहको स्पष्टोक्ति

नेपाली कांग्रेसको गगन थापा समूहले पुस ३० गते सम्पन्न दोस्रो विशेष महाधिवेशन पूर्ण रूपमा वैधानिक र विधिसम्मत रूपमा सम्पन्न भएको दाबी गरेको छ। विशेष महाधिवेशनपछि ठूलो संख्यामा महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर फिर्ता लिएको भन्ने चर्चा चलिरहेका बेला गगन समूहले त्यसको खण्डन गरेको हो।

गगन थापा नेतृत्वको पक्षका तर्फबाट कांग्रेस प्रवक्ता देवराज चालीसेले शुक्रबार विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशन विधानअनुसार, बहुमत प्रतिनिधिको उपस्थिति र सहभागितामा सम्पन्न भएको स्पष्ट पारेका छन्।

विशेष महाधिवेशनपछि केही प्रतिनिधिहरूले हस्ताक्षर फिर्ता लिएको भनिएपछि पार्टी केन्द्रीय समितिले त्यसको यथार्थ स्थिति र वैधानिक प्रभावबारे प्रस्ट्याउन विज्ञप्ति जारी गरेको चालीसेले जानकारी दिए।

विज्ञप्तिअनुसार विशेष महाधिवेशनले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति भंग गरी १५औँ महाधिवेशन सम्पन्न नहुन्जेलसम्मका लागि गगनकुमार थापाको सभापतित्वमा नयाँ केन्द्रीय समिति गठन गर्ने निर्णय गरेको थियो, जुन निर्णय सार्वजनिक भइसकेको छ।

केन्द्रीय समितिका अनुसार विशेष महाधिवेशन दर्ता हुँदा कुल २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संलग्न थियो। दर्तापछि केवल २९ जना प्रतिनिधिहरूले मात्र हस्ताक्षर फिर्ता लिएका हुन्।

अधिवेशनका क्रममा कुल ४ हजार ६३५ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ६५२ जनाको उपस्थिति रहेको पार्टीले जनाएको छ। उपस्थित सबै प्रतिनिधिहरूले निर्णय प्रक्रिया, बहस र मतदानमा सक्रिय सहभागिता जनाएका थिए।

विज्ञप्तिमा भनिएको छ,
“विशेष महाधिवेशन सम्पन्न भइसकेपछि फिर्ता लिइएको भनिने कुनै पनि हस्ताक्षरले अधिवेशनको वैधानिकता, निर्णय प्रक्रिया वा निर्णयहरूको वैधतामा कुनै प्रभाव पार्दैन।”

नेपालको संविधान, नेपाली कांग्रेसको विधान तथा नियमावलीअनुसार एकपटक विधिसम्मत रूपमा सम्पन्न भएको अधिवेशनका निर्णयहरू पछिल्लो हस्ताक्षर फिर्ताको आधारमा रद्द वा प्रभावित गर्न नमिल्ने केन्द्रीय समितिको निष्कर्ष छ।

यता कांग्रेस सभापति शेरबहादुर देउवा पक्षधर समूहले भने ८८५ जना महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर फिर्ता लिएको दाबी गरेको छ। देउवा समूहले शुक्रबार निर्वाचन आयोगमा पुगेर ८८५ जनाको हस्ताक्षर फिर्तासम्बन्धी विवरण बुझाइसकेको जनाएको छ।

Leave a comment