
पर्यटन प्रवर्द्धन र सांस्कृतिक उत्सवको लागि चितवनको इच्छाकामना–५ मा रहेको प्रसिद्ध धार्मिकस्थल इच्छाकामना मन्दिर परिसरमा दुईदिने पञ्चमी मेला लाग्ने भएको छ।
मन्दिर संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराका अनुसार, मेलामा पर्यटन प्रवर्द्धनका लागि विविध सांस्कृतिक कार्यक्रम हुनेछन्। राष्ट्रिय तथा स्थानीय विभिन्न विधाका कलाकारको प्रस्तुति पनि हुनेछ।
इच्छाकामना मन्दिरमा हरेक वर्ष पञ्चमीको अवसरमा रातभर मेला लाग्ने र बिहान पूजाआजा तथा बलि चढाउने परम्परा छ। केही वर्षयता इच्छाकामना गाउँपालिकाले मेलालाई भव्य रूपमा मनाउने प्रचलन सुरु गरेको छ र मेलाको दिन सार्वजनिक बिदा पनि दिइन्छ।
मन्दिर गोरखाको सहिद लखन गाउँपालिकाको मनकामना मन्दिरको उत्तरमा अवस्थित छ। धार्मिक विश्वास अनुसार, यहाँ पूजाआजा गरे इच्छित फल प्राप्त हुन्छ भने सन्तान नहुने जोडीले सन्तान पाउने विश्वास छ। मनकामना देवीको सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी भएको किंवदन्ती पनि छ।
मन्दिर धार्मिक पर्यटकीय स्थलको सम्भावना बोकेको छ। समुद्री सतहदेखि १,८०० मिटरको उचाइमा अवस्थित मन्दिर वरिपरि जङ्गलले ढाकेको छ। फागुन र चैतमा फुलेका लालीगुराँसका फूलले वरिपरिको वातावरण रङ्गीन बनाउँछन्। सफा मौसममा हिमाली शृङ्खला मनास्लु, गणेश र माछापुच्छेस समेत देख्न सकिन्छ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार, मन्दिर पुनर्निर्माणसँगै खानेपानी, विद्युत सेवा र अन्य भौतिक पूर्वाधार निर्माण भएपछि धार्मिक पर्यटकको आवागमन बढेको छ। पछिल्ला वर्षयता भारतीय पर्यटकसमेत दर्शनका लागि आउन थालेका छन्।
मेलामा पुग्न पर्यटकले फिस्लिङ–शक्तिखोर सडक वा मुग्लिन–तामिन सडक प्रयोग गर्ने गर्दछन्। सार्वजनिक बिदा र शनिबारको दिन मन्दिर दर्शन गर्न आउने पर्यटकको घुइँचो देखिन्छ।