
भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै एसिया कप २०२५ को उपाधि जितेको छ। दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा भएको फाइनल खेलमा साविक विजेता भारतले अपराजित रहँदै लगातार उपाधि रक्षा गरेको हो।
यो जितसँगै भारतले एसिया कपको इतिहासमा नवौं पटक उपाधि हात पारेको छ। यसअघि ७ पटक एकदिवसीय फर्म्याटमा र १ पटक टी–२० फर्म्याटमा भारत विजेता बनेको थियो। पाकिस्तानलाई हराउँदै उपाधि जितेको यो पहिलो अवसर बनेको छ।
खेलको संक्षिप्त विवरण
टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तान १९.१ ओभरमै अलआउट हुँदै १४६ रनमा सीमित भयो।
१४७ रनको लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै १५० रन पूरा गर्यो।
भारतका लागि तिलक वर्मा नायक बने। उनले ५३ बलमा ६९ अविजित रन बनाए। अन्तिम क्षणमा रिंकु सिंहले चौका प्रहार गर्दै जित सुनिश्चित गरे।
भारतका लागि अभिषेक शर्मा (५), शुभ्मन गिल (१२) र सुर्य कुमार यादव (०) सस्तोमा आउट भए। तर, तिलक वर्माले सन्जु सामसन (२४) र शिवम दुबे (३३) सँग महत्वपूर्ण साझेदारी गर्दै टिमलाई जित दिलाए।
पाकिस्तानका लागि फहिम असरफले ३ विकेट लिएका थिए भने शाहिन शाह अफ्रिदी र अबर अहमदले १–१ विकेट लिए।
पाकिस्तानको ब्याटिङ
पाकिस्तानका ओपनर साहिबजादा फरहानले ५७ रन बनाए भने फखर जमानले ४६ रन जोडे। तर, बलियो सुरुवातपछि पाकिस्तानको मिडल अर्डर फेरि धराशायी भयो।
११३/१ को अवस्थामा पुगेको पाकिस्तान १३४/७ मा झर्यो। अन्ततः १९.१ ओभरमै अलआउट हुन पुग्यो।
भारतीय बलिङ
भारतका स्पिनरहरू हाबी भए। कुलदिप यादवले ४ विकेट हात पारे भने अक्षर पटेल, वरुण चक्रवर्ती र जसप्रीत बुमराहले समान २–२ विकेट लिए।
यस जितसँगै भारतले ४० वर्षको एसिया कप इतिहासमा पाकिस्तानलाई हराउँदै पहिलो पटक उपाधि जितेको ऐतिहासिक उपलब्धि हासिल गरेको छ।