
वडादसैं अर्थात् नवरात्रको आठौँ दिन आज नौ दुर्गामध्ये सातौँ स्वरूप कालरात्रि देवीको पूजा आराधना गरिँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष चौथी तिथि वृद्धि भएकाले नवरात्र दशरात्र बनेको छ। त्यसै कारण सप्तमी तिथि आजै आठौँ दिनसँग मेल खाएको छ।
कालरात्रि देवी कृष्णवर्णकी, भयङ्कर आकृतिवाली देवी मानिन्छिन्। धार्मिक विश्वासअनुसार प्राणीलाई नष्ट गर्ने काललाई समेत नष्ट गर्ने शक्ति देवी कालरात्रिमा निहित हुन्छ।
नवरात्रको पहिलो दिन घटस्थापनासहित शैलपुत्री देवीको आराधना गरिएको थियो भने त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता र कात्यायनी देवीको पूजा सम्पन्न भइसकेको छ। आज भने सप्तमीसँगै कालरात्रि देवीको विशेष पूजा भइरहेको छ।
पूजाको क्रममा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवी स्तोत्रको पाठ गर्ने परम्परा रहिआएको छ। नवरात्रमा विधिपूर्वक आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास छ।
यसैदिन आश्विन शुक्ल सप्तमीमा फूलपाती पनि घर–घरमा भित्र्याउने परम्परा छ। अपराह्न विशेष विधिअनुसार फूलपाती भित्र्याइने भए पनि यसका लागि साइत नहेर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिएका छन्।
विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पूजा आराधनाको प्रसाद ग्रहण गरिँदै नेपालीहरूले बडादसैं १५ दिनसम्म मनाउने परम्परा रहेको छ।