
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करी प्रयाससहित एक भारतीय नागरिक पक्राउ परेका छन्। थाइल्याण्डको बैंककबाट आएको थाईलायन एयरको उडानमार्फत नेपाल प्रवेश गर्ने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
करिब ४५ वर्षका ती भारतीय नागरिकले सुनलाई प्लास्टिकमा बेरेर मलद्वारमार्फत लुकाइ नेपाल ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। बरामद गरिएको सुनको तौल करिब ९० ग्राम रहेको बताइएको छ।
विमानस्थलमा नियमित जाँचका क्रममा शंका लागेपछि प्रहरी टोलीले उनलाई निगरानीमा लिएको र चिकित्सकीय परीक्षणपछि उक्त सुन बरामद गरिएको जनाएको छ।
पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ।