Join our Channel

कांग्रेस–एमालेमा गहिरो वैचारिक संकट : अध्यक्ष प्रचण्डको टिप्पणी

कांग्रेस–एमालेमा गहिरो वैचारिक संकट : अध्यक्ष प्रचण्डको टिप्पणी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमाले दुबै पार्टीमा गहिरो वैचारिक, राजनीतिक, सांगठनिक र नेतृत्वको संकट देखिएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै दाहालले देशका ठूला भनिएका प्रमुख दलहरू आफैंभित्र गम्भीर अन्योलमा रहेको बताए।

उनले कांग्रेसको प्रसङ्ग उठाउँदै भने, “विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाजस्तो वैचारिक र राजनीतिक नेताको जस्तो नेतृत्व अहिलेको कांग्रेसमा देखिँदैन।”

एमालेभित्र नेतृत्वको दाबीमा विवाद

एमालेप्रति संकेत गर्दै अध्यक्ष दाहालले जनताको बहुदलीय जनवादको प्रवर्तक को हो भन्ने विवाद नै सुरु भएको बताए। उनले भने, “एमालेभित्र अहिले बहुदलीय जनवादको साँचो उत्तराधिकारी को हो भन्ने विवाद छ। प्रधानमन्त्री आफैंले मदन भण्डारीमाथि टिप्पणी गर्नु र त्यसपछि पूर्वराष्ट्रपतिले आफू नै साँचो उत्तराधिकारी हुँ भन्नु गम्भीर संकटको संकेत हो।”

माओवादी केन्द्रमात्रै संकटमुक्त ?

अध्यक्ष दाहालले माओवादी केन्द्र भने वैचारिक र सांगठनिक दृष्टिकोणले स्पष्ट मार्गमा रहेको दाबी गरे। “अहिले वैचारिक र राजनीतिक स्पष्टता भएको एक मात्र दल माओवादी केन्द्र हो,” उनले भने।

प्रचण्डको यो अभिव्यक्ति मुलुकको वर्तमान राजनीतिक दलहरूको भित्रि अन्योल र सार्वजनिक द्वन्द्वप्रति गम्भीर संकेतका रूपमा आएको छ।

Leave a comment