Join our Channel

इरान कहिल्यै आत्मसमर्पण गर्दैन : खामेनीको स्पष्ट सन्देश अमेरिकालाई

इरान कहिल्यै आत्मसमर्पण गर्दैन : खामेनीको स्पष्ट सन्देश अमेरिकालाई
Getty Images

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले अमेरिकाले राखेको ‘बिनासर्त आत्मसमर्पण’को मागलाई अस्वीकार गर्दै, इरान कहिल्यै आत्मसमर्पण नगर्ने स्पष्ट सन्देश दिएका छन्।

उनले सरकारी टेलिभिजनमार्फत जारी गरिएको लिखित सन्देशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीलाई ‘अस्वीकार्य’ ठहर गरेका छन्। “यो राष्ट्रले कहिल्यै आत्मसमर्पण गर्ने छैन,” खामेनीले भने।

ट्रम्पले केही घन्टाअघि इरानी नेतृत्व कहाँ लुकेका छन् भन्ने अमेरिका जानकार रहेको र चाहेमा खामेनीको हत्या गर्न सक्ने धम्की दिएका थिए। त्यसपछि खामेनीको कडा प्रतिक्रिया सार्वजनिक भएको हो।

गत शुक्रबार इजरायलले इरानी सैन्य संरचनामाथि ठूलो बमबारी गरेपछि, इरानले मिसाइल र ड्रोनमार्फत जवाफी कारबाही सुरु गरेको थियो।

खामेनीले थपे, “अमेरिकाले बुझ्नुपर्छ कि कुनै पनि सैन्य हस्तक्षेपले गम्भीर नोक्सानी पुर्याउनेछ।” सन् १९८९ देखि इरानको सर्वोच्च नेतृत्वमा रहेका खामेनीले यस्ता धम्कीहरूलाई बेवास्ता गर्दै देशको स्वाभिमान रक्षा गर्न दृढ रहेको बताए।

संयुक्त राष्ट्रसंघीय आणविक निगरानी संस्था (IAEA) ले तेहरान नजिकै रहेको इरानको आणविक कार्यक्रमसँग सम्बन्धित दुई भवन इजरायली हमलामा ध्वस्त भएको पुष्टि गरेपछि खामेनीको यो भनाइ आएको हो।

उनले यसअघि नै इजरायली नेताहरूप्रति कुनै दया नदेखाइने चेतावनी दिएका थिए।

Leave a comment