
काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।
न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बुधबार आदेश जारी गर्दै पाण्डेलाई यथास्थितिमा राख्न र उनीमाथि गरिएको निलम्बन निर्णय कार्यान्वयन नगर्न भनेको हो।
उच्च अदालत पाटनकी सूचना अधिकारी पार्वती हितानका अनुसार अदालतको आदेशमा भनिएको छ:
“निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनु।”
राजुनाथ पाण्डेमाथि मेयर बालेन्द्र शाह (बालेन) को मौखिक निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउने प्रयास गरेको आरोप लागेपछि ७ बुँदे स्पष्टीकरण मागिएको थियो।
पाण्डेले जेठ १२ गते आफ्नो स्पष्टीकरण बुझाएका थिए। त्यसपछि जेठ २० गते उनलाई छानबिनका लागि ६ महिनाका लागि निलम्बन गरिएको थियो।
उक्त निर्णयविरुद्ध पाण्डेले मंगलबार उच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेका थिए। अदालतले प्रारम्भिक रूपमा पाण्डेको पक्षमा आदेश दिएको हो।