Join our Channel

इरानबाट ११ नेपालीको उद्धार: भारतीय दूतावासमार्फत मशहद हुँदै स्वदेश फिर्तीको तयारी

इरानको राजधानी तेहरानमा रहेका १७ जना नेपालीमध्ये ११ जनालाई आइतबार भारतीय दूतावासले उत्तरी शहर मशहद लैजाने तयारी गरेको छ। उनीहरूलाई कोम हुँदै बसमार्फत मशहद पुर्‍याएर त्यहाँबाट भारतमार्फत स्वदेश फर्काउने योजना बनाइएको छ।

उद्धार सूचीमा रहेका नेपालीहरूमध्ये उदयपुरका हरि थापा, उनका छोरा उत्सव थापा, श्रीमती गायत्री कार्की थापा, बुटवलका विष्णु भुसाल, बुद्धिसागर पौडेल, गणेश पोखरेल, सुमन गैरे, विष्णुप्रसाद बन्जाडे, यज्ञ मरासिनी र राजु खनाल रहेका छन्।

उनीहरू विगत ८ देखि २४ वर्षसम्म तेहरानका विभिन्न रेस्टुरेन्ट र दूतावासहरूमा कार्यरत थिए।

तेहरानमै कार्यरत हरि थापाका अनुसार, ‘हामी ११ जनालाई आइतबार बिहानै तेहरानको एउटा स्थानमा जम्मा हुन भनिएको छ। त्यहाँबाट हामी मशहद लैजाने भनिएको छ र सम्भवत माशदबाट भारत पुर्‍याइनेछ।’

तेहरानबाट कोमसम्म करिब २ घण्टा ३० मिनेट र त्यहाँबाट मशहदसम्म झन्डै १२ घण्टा लाग्ने अनुमान गरिएको छ।

७ नेपाली पुन: तेहरान फर्किँदै

बुधबार तेहरान छोडेर अन्य शहर गएका ७ नेपाली पनि उद्धारका लागि शनिबारसम्म पुन: तेहरान फर्किरहेका छन्। भारतीय दूतावासले उनीहरूलाई पनि समेटेर उद्धार प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

५ नेपाली अझै जेलमा

तेहरानमा रहेका ११ जनाको उद्धारको तयारी भइरहेका बेला अझै ५ जना नेपाली भने इरानी जेलमा छन्। तीमध्ये दाङका गोविन्द डाँगी, मदन डाँगी र पुष्कर खत्रीको ट्राभल डकुमेन्ट दोहास्थित नेपाली दूतावासले पठाइसकेको छ। महेश डाँगी र बालकृष्ण खड्कासँग भने राहदानी नै छ।

उनीहरू डेढ महिना अघि इरानको आवासीय कानुन उल्लङ्घन गरेको आरोपमा पक्राउ परेका थिए। स्थानीय अदालतले उनीहरूलाई स्वदेश फर्काउने आदेश दिइसकेको छ।

परराष्ट्र मन्त्रीको पहल

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत सरकारसँग समन्वय गरेर इरानमा रहेका नेपालीको उद्धार गर्न आग्रह गरेकी छन्। उनले भनिन्, ‘इरानमा रहेका नेपालीको उद्धारका लागि मैले भारत सरकारसँग औपचारिक अनुरोध गरिसकेको छु। भारत सकारात्मक रहेको छ।’

उद्धारपछि नेपालीहरूलाई भारतमार्फत नेपाल ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ।

Leave a comment