
करदाता सेवा कार्यालय पाँचथरसँगको सहकार्यमा घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले एकीकृत सेवामार्फत करसँग सम्बन्धित सेवा प्रदान गरेको छ।
ताप्लेजुङमा करदाता सेवा कार्यालय नभएकाले स्थानीय सेवाग्राहीलाई करसम्बन्धी सेवा लिन पाँचथरसम्म पुग्नुपर्ने बाध्यता थियो। तर, सेवाग्राहीको सुविधा र आवश्यकतालाई ध्यानमा राख्दै एक दिने एकीकृत घुम्ती सेवा शिविरको आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख उद्योग अधिकृत लक्ष्मी सुहाङले जानकारी दिए।
शिविरमार्फत १९ वटा नयाँ उद्योग दर्ता, ९ वटा उद्योगको नाम परिवर्तन, ७ वटा उद्योगको उद्देश्य थप तथा २ वटा उद्योगको खारेजी सेवा प्रदान गरिएको छ।
साथै, व्यक्तिगत, व्यावसायिक, संस्थागत PAN नम्बर जारी, करदाता विवरण अद्यावधिक, KYC तथा बायोमेट्रिक जानकारी अद्यावधिक लगायतका सेवा पनि उपलब्ध गराइएको थियो।
शिविरमा करदाता सेवा कार्यालय पाँचथरका प्रमुख बद्रीप्रसाद भेटवालको नेतृत्वमा आएको टोलीले सेवा सञ्चालन गरेको थियो।
उद्योग अधिकृत सुहाङले भने, “अब सेवाग्राहीले फिदिमसम्म जानुपर्दैन, आफ्नै जिल्लामै सेवा उपलब्ध भएपछि समय, खर्च र झन्झट बच्ने भएको छ।”
एकीकृत सेवा प्रणालीबाट ताप्लेजुङका उद्योगी तथा व्यवसायीहरू लाभान्वित भएका छन् र यसले आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्न सहयोग पुग्ने आशा व्यक्त गरिएको छ।