Join our Channel

इस्मामा पाँच गाईभैंसी पालकलाई मासिक १० हजार अनुदान, किसान खुशी

इस्मामा पाँच गाईभैंसी पालकलाई मासिक १० हजार अनुदान, किसान खुशी

इस्मा गाउँपालिकाका दुहुना गाईभैंसी पालक किसानलाई स्थानीय सरकारले मासिक १० हजार रुपैयाँ अनुदान दिन थालेपछि किसान उत्साहित भएका छन्।

इस्मा गाउँपालिका–५ का कृषक कृष्णबहादुर महतले आफ्नै फार्ममार्फत १४ वटा गाई पालन गर्दै आएका छन्। पाँच दुहुना गाईबाट दैनिक ४५ लिटर दूध उत्पादन गरी बजारमा पठाउने गरेका उनी पालिकाको अनुदान कार्यक्रमबाट लाभान्वित भएको बताउँछन्।

‘गाउँमै केही गर्ने सोच बनाएर गाईपालन सुरु गरेँ,’ उनले भने, ‘पालिकाले औषधि र मासिक अनुदान दिएपछि मेहनतको फल पाएको महसुस भएको छ।’

इस्मा–६ का कमल पराजुलीले पाँच माउ गाईसहित एकीकृत कृषि तथा पशुपन्छी फार्म सञ्चालन गर्दै आएका छन्। ‘यसले त पेन्सनजस्तै राहत दिएको छ,’ उनले भने, ‘पालिकाको सहयोगले अझ बढी उत्साह थपिएको छ।’

इस्मा–१ का टामलाल कुँवरले गौरव कृषि तथा पशुपन्छी फार्ममार्फत ८ भैंसी र २ गाई पाली दैनिक ३०–३५ लिटर दूध बिक्री गर्दै आएका छन्। उनका साथमा काम गर्ने गीता कुँवर पनि पालिकाको सहयोगप्रति सन्तुष्ट छिन्।

इस्मा गाउँपालिकाको पशु हेरालु अनुदान योजनामा हाल ५ वटा फार्म समावेश छन् — घिमिरे फार्म अम्मरपुर, न्यु नमुना फार्म रजस्थल, गगन–गृष्मा फार्म हस्तीचौर, एकीकृत फार्म अम्मरपुर र गौरव फार्म हस्तीचौर।

पालिकाले गत वर्षदेखि सुरु गरेको यस योजनाअनुसार कम्तीमा पाँचवटा दुहुना गाई वा भैंसी हुनुपर्नेछ। फार्महरूको अनुगमन सम्बन्धित वडाका पशु प्राविधिकले गर्दै आएका छन्।

साउनमा फार्महरू सूचीकृत गरिन्छ र सम्झौता अनुसार भदौदेखि असारसम्म ११ महिनासम्म किसानलाई मासिक १० हजार रुपैयाँ प्रदान गरिन्छ। गत वर्ष मात्रै ५ फार्मले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गरिसकेका छन्।

इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले दीर्घकालीन विकासको लागि यो कार्यक्रम ल्याइएको बताए। ‘यसले पशुपालनतर्फ आकर्षण बढाएको छ,’ उनले भने, ‘अब इस्मा दूधमा आत्मनिर्भर बन्दै तम्घासमा पनि दूध आपूर्ति भइरहेको छ।’

Leave a comment