
दक्षिण इजरायलको बियर शेभा सहरस्थित एक आवासीय भवनमा मंगलबार बिहान मिसाइल प्रहार हुँदा कम्तीमा ९ जना घाइते भएका छन्।
इजरायल फायर एन्ड रेस्क्यु सेवाकी प्रवक्ता शिराल बेन डेविडका अनुसार बिहानै स्थानीय समयअनुसार उक्त मिसाइल प्रहार भएको पुष्टि भएको हो।
इजरायली सञ्चारमाध्यमहरूका अनुसार उद्धार टोली तत्काल घटनास्थलमा पुगेको छ र खोज तथा उद्धार कार्य जारी रहेको छ। टाइम्स अफ इजरायलले जनाएकोअनुसार घटनामा घाइते भएका ९ मध्ये ३ जनाको अवस्था गम्भीर, १ जनाको मध्यम, र अन्य ५ जना सामान्य घाइते रहेका छन्।
स्वास्थ्यकर्मीहरू सक्रिय रूपमा घाइतेहरूको उपचारमा संलग्न रहेको जनाइएको छ। इजरायलको आपतकालीन सेवा संस्था मगेन डेविद अदोमले सार्वजनिक गरेका तस्बिरहरूमा विस्फोटबाट क्षतिग्रस्त भवन र उद्धार कार्यमा जुटिरहेका कर्मचारीहरू देखिएको छ।
यो आक्रमणले इरान–इजरायलबीचको चुलिँदो तनाव अझै ननिभेको संकेत दिएको विश्लेषकहरूले बताएका छन्। क्षेत्रीय सुरक्षा चुनौतीबीच यस्ता आक्रमणहरू भविष्यमा अझै बढ्न सक्ने संकेत देखिएको छ।