Join our Channel

मुस्ताङमा बाढीपहिरोले यातायात ठप्प, कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

मुस्ताङमा बाढीपहिरोले यातायात ठप्प, कोरला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

मुस्ताङमा निरन्तर वर्षासँगै बाढी र पहिरोका कारण जोमसोम–कोरला राष्ट्रिय गौरवको सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ। जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात सेवा ठप्प भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार, जोमसोमदेखि कागबेनीसम्मको पाण्डा खोलानजिक तीन ठाउँमा सडक संरचनामा गम्भीर क्षति पुगेको छ। जोमसोमदेखि दुई किलोमिटर माथिको कालोपत्र सडक भासिएर करिब २५ मिटर सडक नष्ट भएको उनले बताए।

“पाण्डा खोलाको बाढीले सडक संरचनामा ठूलो क्षति पुर्‍याएको छ, अहिले सुरक्षाकर्मीले कामचलाउ रूपमा यातायात सञ्चालनमा ल्याएका छन्,” — प्रमुख जिल्ला अधिकारी भुसाल

सडक माथिबाट निरन्तर पहिरो खस्नेक्रम नरोकिएकाले मुक्तिनाथ दर्शनमा आएका यात्रुहरूलाई जोमसोममै रोकिएको छ। प्रशासनले जोमसोमबाट मुक्तिनाथ वा कोरलातर्फ जाने सबै सवारीसाधनलाई अस्थायी रूपमा रोक लगाएको जनाएको छ।

त्यसैबीच, जोमसोम–कागबेनी सडकखण्डमा खसेको पहिरोले एक ट्याक्सीमा क्षति पु¥याएको र एउटा भारतीय गाडी पहिरोमा फसेको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए। फसेको गाडीलाई निकाल्ने प्रयास जारी रहेको उनले बताए।

कोरला सडकखण्ड अन्तर्गत कागबेनी–छुसाङबीचका आधा दर्जन स्थानमा सडक अवरुद्ध भएको छ। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का अध्यक्ष विनोद गुरुङका अनुसार, ताङ्वे–छुसाङबीच खोलाको बाढीले सडक भत्काएको र सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ।

वर्षाका कारण बाटोमा अलपत्र परेका १७ जना यात्रुलाई ग्रीन ताङ्वे घरमा अस्थायी रूपमा राखिएको वडाध्यक्ष गुरुङले जनाएका छन्। वर्षा रोकिएपछि उनीहरूलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको उनले बताए।

आज बिहान प्रमुख जिल्ला अधिकारी भुसाल, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरी र प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामासहितको टोलीले अवरुद्ध सडकको अवलोकन गरेको छ। प्रशासनका अनुसार, जोमसोम–कागबेनी सडक मर्मत र सञ्चालनमा ल्याउन कम्तीमा दुईदेखि तीन दिन लाग्न सक्छ।

Leave a comment