Join our Channel

एमाले केन्द्रीय कमिटी बैठक : ओलीको राजनीतिक प्रस्तावमाथि आज पनि छलफल, १०० सदस्य बोल्ने तयारी

एमाले केन्द्रीय कमिटी बैठक : ओलीको राजनीतिक प्रस्तावमाथि आज पनि छलफल, १०० सदस्य बोल्ने तयारी

नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज दोस्रो दिन पनि जारी छ। आज बिहान ८ बजेबाट सुरु हुने बैठकमा अध्यक्ष केपी शर्मा ओलीको विशेष राजनीतिक प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले आफ्ना धारणा र सुझाव राख्ने क्रम निरन्तर जारी रहने एमालेले जनाएको छ।

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबारको बैठकमा करिब ३६० मध्ये ५० जना केन्द्रीय सदस्यहरूले आफ्ना विचार प्रस्तुत गरिसकेका थिए। आजको बैठकमा १०० जना सदस्यहरूले धारणा राख्ने अनुमान गरिएको छ।

बैठकमा हरेक केन्द्रीय सदस्यलाई ३ मिनेट बोल्ने समय दिइएको छ। तोकिएको समयमा विचार नटुंग्याएमा माइक स्वचालित रूपमा काटिने व्यवस्था गरिएको गौतमले जानकारी दिए।

बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्यहरूलाई वर्णानुक्रम अनुसार ‘ज्ञ’ देखि ‘क’ सम्म पालैपालो अवसर दिइएको छ। हिजोको बैठकमा ‘र’ अक्षरबाट सुरु हुने सदस्यहरूले आफ्ना धारणा राखेका थिए।

अध्यक्ष ओलीको प्रस्ताव र बैठकको मुख्य एजेन्डा

अध्यक्ष केपी शर्मा ओलीले हिजोको बैठकमा मंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११औं महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए। आज पनि त्यस प्रस्तावबारे छलफल जारी छ।

केन्द्रीय सदस्यहरूका धारणा सुनेपछि पार्टीका पदाधिकारीहरूले पनि आफ्ना विचार राख्ने र अन्त्यमा अध्यक्ष ओलीले सबै सुझाव र जिज्ञासाको समग्र जवाफ दिने तयारी रहेको छ।

बुधबारको बैठकपछि गौतमले जेनजी आन्दोलनका घटना, अन्तरिम सरकार गठनको प्रक्रिया, संसद् विघटन, र आगामी निर्वाचनमा एमालेको भूमिकाबारे विभिन्न सुझाव आएको बताएका थिए।

उनका अनुसार, पार्टीभित्र अध्यक्षको राजीनामाआन्तरिक समीक्षाको विषयमा पनि बहस भएको छ। केही सदस्यहरूले अध्यक्षको राजीनामा माग्ने पदाधिकारीहरूले पहिले आफूले नै राजीनामा दिनुपर्ने सुझाव पनि दिएका छन्।

Leave a comment