
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ।
ललितपुरको इमाडोलमा बसेको केन्द्रीय समिति बैठकले देशभरका पार्टी कार्यकर्तालाई चुनावी तयारीमा जुट्न निर्देशन दिएको जसपाका प्रवक्ताले जानकारी दिए।
बैठकले विचार र सिद्धान्त मिल्ने दलहरूसँग एकता गर्ने नीतिगत निर्णय पनि गरेको छ। अध्यक्ष यादवले विगतमा पार्टी छाडेका सबै नेता–कार्यकर्तालाई “पुरानो घर फर्किनुहोस्” भन्दै योग्यताअनुसार जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरे।
राजनीतिक दस्तावेजमा जसपाले कांग्रेस, एमाले र माओवादी नेतृत्वका सरकारहरू सुशासन र समृद्धि दिलाउन असफल भएको निष्कर्ष निकालेको छ। यादवले देशमा बढ्दो गरिबी, बेरोजगारी, भ्रष्टाचार र विभेदका कारण जनतामा निराशा बढेको बताएका छन्।
जसपाका महासचिव रामकुमार शर्माले माओवादी अध्यक्ष प्रचण्डले वाम एकताको ‘नाटक’ रचेको आरोप लगाउँदै ठूला दलहरू चुनाव–केन्द्रित मानसिकता बाट मुक्त हुनुपर्ने धारणा राखे।
उनले हाल देशभर चर्चामा रहेको जेन–जी आन्दोलनका माग सम्बोधनका लागि संविधान संशोधन र सबै दलबीच संवाद गर्न आवश्यक रहेको बताए।
बैठकले असन्तुष्ट कार्यकर्तालाई पुनः समेट्ने र पार्टीलाई समावेशी, सशक्त र युवा–मैत्री बनाउने अभियान चलाउने निर्णय गरेको छ। जसपाले निकट भविष्यमा देशव्यापी अभियान सुरु गर्ने तयारी गरेको छ।