Join our Channel

१५ घण्टापछि बल्ल बल्यो त्रिभुवन विमानस्थलको रनवे बत्ती

१५ घण्टापछि बल्ल बल्यो त्रिभुवन विमानस्थलको रनवे बत्ती

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA) को धावनमार्गको बत्ती (एयरफिल्ड लाइटनिङ सिस्टम) बिग्रिएर करिब १५ घण्टा अँध्यारोमा परेको रनवे अन्ततः पुनः सञ्चालनमा आएको छ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, प्राविधिक टोलीले निरन्तर मर्मत कार्य गरेपछि बुधबार राति ९ बजेर ४० मिनेटमा विद्युत् आपूर्ति पुनः सुचारु गरिएको हो।

यसअघि शनिबार बिहानदेखि रनवेमा विद्युत् अवरुद्ध (सर्ट सर्किट) हुँदा विमानस्थल करिब साढे ४ घण्टा पूर्ण रूपमा बन्द गरिएको थियो। यस अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान स्थगित भएका थिए।

प्रवक्ता शेर्पाले भने, “प्राविधिक टोलीले करिब साढे ४ घण्टा लगाएर एयरफिल्ड लाइटनिङ सिस्टमको खराबी मर्मत गर्‍यो। अब सबै अन्तर्राष्ट्रिय उडान तथा अवतरण सुचारु भइसकेका छन्।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार, शनिबार बिहान ६ बजे नियमित परीक्षणका क्रममा रनवेमा विद्युत् आपूर्ति बन्द भएको पाइएको थियो। दिनभर भिजुअल फ्लाइट रुल्स (VFR) अनुसार उडान सञ्चालन गरिएको भए पनि सूर्यास्तपछि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (IFR) उडानका लागि बत्ती आवश्यक भएपछि विमानस्थल बन्द गर्नुपरेको थियो।

दिउँसो समस्या समाधानको प्रयास गरे पनि सफलता नपाएपछि साँझ ५:१५ बजेबाट विमानस्थल बन्द गरिएको थियो। सुरुवातमा साढे ७ बजेसम्मका लागि बन्द गरिएको भए पनि विद्युत् आपूर्ति पुनः सुचारु हुन नसकेपछि बन्द अवधि राति ९:३० बजेसम्म लम्ब्याइएको थियो।

भुलका अनुसार, सर्ट सर्किटको ठ्याक्कै कारण पत्ता लागेको छैन, तर रनवे नजिक भइरहेको नवीन निर्माण कार्यका कारण समन्वय अभाव र पुरानो विद्युत् प्रणालीले समस्या बढाएको हुनसक्छ।

शनिबार बिहान साढे ४ बजेसम्म रनवे र ट्याक्सी वेको विस्तार र सुधारको काम भइरहेको थियो। उनले भने, “५०–६० वर्ष पुरानो प्रणालीमा नयाँ निर्माण कार्यले हस्तक्षेप गर्दा सर्ट सर्किट भएको हुन सक्छ।”

यो घटना त्रिभुवन विमानस्थलको इतिहासमा पहिलोपटक रनवेमा विद्युत् आपूर्ति बन्द भएर सारा विमानस्थल नै ठप्प भएको घटना भएको स्रोतहरूले जनाएका छन्।

विमानस्थल बन्द हुँदा हजारौं यात्रुहरू अलपत्र परेका थिए भने भारत र बंगलादेशलगायतका अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट भई पुनः काठमाडौं फर्किएका थिए।

Leave a comment