
कर्णालीको काखमा अवस्थित जुम्लाको गुठिचौर गाउँपालिकामा आजदेखि दोस्रो आकासे पर्व प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ। अब गुठिचौर केवल स्याउ उत्पादन वा हिमाली सुन्दरता हेर्ने थलो मात्र नभई साहसिक पर्यटनको आकर्षक गन्तव्य बन्न थालेको छ।
गाउँपालिका अध्यक्ष दानबहादुर बुढा का अनुसार महोत्सवले गुठिचौरलाई साहसिक पर्यटनको नक्सामा स्थापित गर्नेछ। “पर्यटकलाई आकाशबाट स्याउबगान, हरियाली बन, हिमशृङ्खला र गाउँघरको मनमोहक दृश्य एकैसाथ देखाउने अनुभव हुनेछ,” उनले बताए।
प्याराग्लाइडिङमा सहभागिता जनाउने पर्यटकले २० देखि ३० मिनेटसम्म प्रशिक्षित पाइलटको साथमा सुरक्षित उडान गर्ने व्यवस्था मिलाइएको छ। सेवा शुल्क स्थानीय पर्यटकका लागि ३,५०० रुपैयाँ र बाहिरीका लागि ४,५०० रुपैयाँ तोकिएको छ।
गाउँपालिका उपाध्यक्ष शान्तिकुमारी मल्ल ‘भण्डारी’ भन्छिन्, “यो केवल उडान होइन, जीवनभर सम्झनामा रहने क्षण हो। कर्णालीका पहाड, वन र हिमाललाई आकाशबाट हेर्ने त्यो क्षण शब्दभन्दा पर हुनेछ।”
प्रमुख प्रशासकीय अधिकृत माया लक्ष्मी बुढा का अनुसार, महोत्सवले कृषिमा सीमित गुठिचौरलाई पर्यटनमैत्री गन्तव्यतर्फ अघि बढाउनेछ। स्थानीय रोजगारी, उद्यमशीलता र होटल व्यवसायमा प्रत्यक्ष टेवा पुग्ने अपेक्षा गरिएको छ।
आयोजकले आवश्यक पूर्वाधार, सुरक्षा व्यवस्था र पाइलट तयारी पूरा भएको जनाएको छ। महोत्सवले साहसिक पर्यटनप्रति बढ्दो आकर्षणलाई उपयोग गर्दै जुम्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको विशेष गन्तव्य बनाउने विश्वास लिइएको छ।