
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी अन्दाजी २६ वर्षीया रेस्मिका परियार मृत फेला परेकी छन्। उनी भदौ ३० गते राति स्थानीय मार्से जंगलमा घोप्टो परेको अवस्थामा भेटिएकी हुन्।
परियार अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन्। सोही दिन बेलुकी कार्यालयस्थल पञ्चमीबजारबाट घर फर्कने क्रममा बाटोमै उनीमाथि बलात्कारपछि हत्या भएको आशंका गरिएको छ।
कार्यवाहक वडाध्यक्ष सुवास प्रधानका अनुसार, परियार घर नफर्किएपछि खोज्दा बाटोमै उनको चप्पल र कपडा मडारिएको ठाउँ भेटिएको थियो। त्यसपछि करिब १०० मिटर तल उनको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश बुढाथोकीका अनुसार, घटनास्थलमा प्रहरी पुगिसके पनि आफन्तको पर्खाइमा शव उठाउन नसकिएको छ।