Join our Channel

कैलाली कारागारमा कैदीको रहस्यमय मृत्यु: शरीरभरि निलडाम, परिवारले दाबी गरे कुटपिटबाट मृत्यु

कैलाली कारागारमा कैदीको रहस्यमय मृत्यु: शरीरभरि निलडाम, परिवारले दाबी गरे कुटपिटबाट मृत्यु

कैलाली जिल्ला कारागारमा कैदीको रहस्यमय मृत्यु भएको छ। डडेलधुरा जिल्लाको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको सोमबार मृत्यु भएको हो। उनका परिवारले मृत्यु शंकास्पद रहेको भन्दै शव लिन अस्वीकार गरेका छन्। शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।

मृतकका आफन्त जगदीश रावलका अनुसार हरिशसिंहलाई कारागारभित्र कुटपिट गरिएको थियो। “उहाँको शरीरभरि निलडाम थिए, टाउकोबाट रगत बगेको थियो। छानबिन नहुँदासम्म हामी शव बुझ्दैनौं,” उनले बताए।

यसैबीच, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी राजकुमार सिंहले भने, “हरिशसिंह एक्कासि बिरामी भएपछि उनलाई सेती प्रादेशिक अस्पताल ल्याइएको थियो। अस्पताल पुर्‍याएको केहीबेरमै मृत्यु भएको हो।”

प्रहरीका अनुसार, हरिशसिंहलाई कैलाली जिल्ला अदालतले २० फागुनमा बैंकिङ कसुरमा १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना तोकेको थियो। उक्त सजाय कार्यान्वयन गर्न उनलाई चैत ३१ गते डडेलधुराको अमरगढी नगरपालिका–५ स्थित तुफानडाँडाबाट पक्राउ गरिएको थियो। कारागार चलान गरिएको भोलिपल्टै उनको मृत्यु भएको हो।

मृत्युलाई लिएर अब छानबिन आवश्यक देखिएको छ, किनकि परिवारको दाबी अनुसार शारीरिक चोटहरू गम्भीर थिए। यस घटनाले कारागारको सुरक्षा र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ।

Leave a comment