Join our Channel

कञ्चनपुरमा कोटाको आधारमा डिएपी मल वितरण सुरु, किसानले पाए राहत

कञ्चनपुरमा कोटाको आधारमा डिएपी मल वितरण सुरु, किसानले पाए राहत

कृषि सामग्री कम्पनी लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले कोटा प्रणालीमार्फत जिल्लामा डिएपी मल वितरण सुरु गरेको छ।

प्रदेश मल वितरण व्यवस्थापन समितिको निर्णय अनुसार नगरपालिकाहरूलाई ६९ देखि ९० मेट्रिकटन र गाउँपालिकाहरूलाई ५५.९ मेट्रिकटनको दरले डिएपी मल वितरण गरिने कृषि सामग्री कम्पनी महेन्द्रनगरका निमित्त प्रमुख सुन्दर केसीले जानकारी दिए।

उनका अनुसार कम्पनीलाई भैरहवा कार्यलयबाट ६९८.४ मेट्रिकटन डिएपी मल प्राप्त हुने जनाइएको छ। हालसम्म २५० मेट्रिकटन डिएपी मल भित्रिसकेको र वितरण प्रक्रिया सुरु भइसकेको उनले बताए।

हाल कम्पनीको भण्डारणमा १८९.१५ मेट्रिकटन डिएपी, ९७४.४५ मेट्रिकटन युरिया र ७६.५ मेट्रिकटन पोटास मल मौज्दातमा रहेको छ। चालु आर्थिक वर्षमा ३,८८० मेट्रिकटन डिएपी र ५,४५३ मेट्रिकटन युरिया मलको बिक्री तथा वितरण भइसकेको पनि उनले बताए।

मूल्य निर्धारण अनुसार सहकारी संस्थाहरूमार्फत युरिया मल प्रति बोरा रु ९४०, डिएपी प्रति बोरा रु २,३९४ र पोटास प्रति बोरा रु १,७९४ मा बिक्री भइरहेको छ।

जिल्लामा अनुदानको युरिया मल पर्याप्त मात्रामा उपलब्ध भए पनि डिएपी मलको भने केही अभाव देखिएको प्रमुख केसीले बताए। यसबाट किसानहरूमा डिएपी मलको माग अझै उच्च रहेको संकेत मिलेको छ।

Leave a comment