Join our Channel

बागमती नदीमा बेलिब्रिज जडान, कान्ति लोकपथ फेरि सञ्चालनमा

बागमती नदीमा बेलिब्रिज जडान, कान्ति लोकपथ फेरि सञ्चालनमा

काठमाडौं–हेटौंडा जोड्ने वैकल्पिक सडकको रूपमा विकास भइरहेको कान्ति लोकपथ आइतबार बिहान १० बजेदेखि फेरि सञ्चालनमा आएको छ। बागमती नदीमाथिको क्षतिग्रस्त पुलको स्थानमा बेलिब्रिज जडान गरेपछि लोकपथ सञ्चालनमा ल्याइएको हो।

बेलिब्रिज जडानको काम शनिबार बिहानसम्म पूरा गरिएको जानकारी दिँदै आयोजना प्रमुख रत्नलक्ष्मी बज्राचार्यले भनिन्, “जेठ २१ गतेदेखि २४ सै घन्टा काम गरेर आइतबार बिहान बेलिब्रिज जडान सम्पन्न भयो, जसपछि १० बजेदेखि सडक सञ्चालनमा ल्याइएको हो।”

३० टन क्षमताको बेलिब्रिज जडान

बाढीले क्षति पुर्‍याएको बागमती पुलको मकवानपुरतर्फको एक स्पान स्थानमा २४.४ मिटर लामो र ५ मिटर चौडाइ भएको ३० टन भार उठाउन सक्ने बेलिब्रिज जडान गरिएको हो। यत्रा सुरक्षित बनाउनका लागि ग्याबिन (ढुंगाभरिएको तारजाली) समेत जडान भइरहेको छ।

५० जना प्राविधिकको टोली खटियो

बेलिब्रिज जडानका लागि ३ वटा एक्स्काभेटर र करिब ५० जना प्राविधिक तथा कामदार पाँच दिनसम्म खटिएका थिए। इन्जिनियर साजन न्यौपानेका अनुसार संरक्षणको काम पनि साथसाथै अगाडि बढाइएको छ।

सडक सञ्चालनमा विशेष सावधानी

३० टनको सीमित भार उठाउन सक्ने ब्रिज भएकाले मालवाहक सवारीलाई एकपटकमा एकतर्फी मात्र चलाउन अनुमति दिइएको छ। ट्रक वा ट्रेलरजस्ता गाडीका लागि अधिकतम प्रतिएक्सल वजन १० टनसम्म मात्र राख्न निर्देशन दिइएको छ।

डेढ करोड लागतको निर्माण

बेलिब्रिज जडान तथा ग्याबिन जडानको काम करिब साढे एक करोड रुपैयाँमा ठेक्का दिइएको आयोजना कार्यालयले जानकारी दिएको छ।

वैकल्पिक मार्ग प्रयोग

चार दिन लोकपथ बन्द हुँदा यात्रुहरूले कुलेखानी–कलंकी–हुमाने र कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गरेका थिए।

Leave a comment