
रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ मर्चवार क्षेत्रको एक खेतमा २२ वर्षीया सिर्जना पालको जलेको अवस्थामा शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार, आइतबार बिहान करिब १:४० बजे स्थानीयले खेतमा आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए। जब प्रहरी टोली घटनास्थलमा पुग्यो, उक्त आगोभित्र युवतीको शव रहेको पुष्टि भयो।
शव आफ्नो घरदेखि झण्डै १ किलोमिटरको दूरीमा फेला परेको हो। खबर पाएपछि प्रहरीले राति २ बजे नै घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतक युवतीका श्रीमान्, परिवारका सदस्य र स्थानीयलाई सोधपुछका लागि बोलाइएको छ।
डीएसपी सापकोटाका अनुसार घटनाको कारण र मृत्युको प्रकृति पुष्टि गर्न विस्तृत अनुसन्धान भइरहेको छ। प्रहरीले पोस्टमार्टम रिपोर्टका आधारमा थप तथ्य बाहिर आउने विश्वास व्यक्त गरेको छ।