Join our Channel

कर्णाली अस्पतालका लेखा अधिकृतमाथि २५ लाखभन्दा बढी भ्रष्टाचार अभियोगमा मुद्दा दायर

कर्णाली अस्पतालका लेखा अधिकृतमाथि २५ लाखभन्दा बढी भ्रष्टाचार अभियोगमा मुद्दा दायर

कर्णाली प्रदेशको प्रमुख सरकारी स्वास्थ्य संस्था प्रदेश अस्पताल सुर्खेतमा कार्यरत लेखा अधिकृतसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज एक विज्ञप्तिमार्फत जानकारी दिँदै प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शङ्करप्रसाद सुवेदी, करारमा कार्यरत तृप्ती शाही ठकुरी (तृप्ती शाही) र कुमारी बैङ्कको अस्पतालमा रहेको एक्सटेन्सन काउन्टरकी तत्कालीन इञ्चार्ज गोमा सिँजाली मगरविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको जनाएको हो।

आयोगका अनुसार उनीहरूलाई रु २५ लाख ६७ हजार ५२६ रुपैयाँ बराबरको रकम बैंकमा दाखिला नगरी अनधिकृत रूपमा हिनामिना गरेको आरोप लागेको छ। यो रकम अस्पतालको बिलिङ काउन्टरमा उठेको भए पनि बैंकमा जम्मा नगरी व्यक्तिगत रूपमा दुरुपयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सोहीअनुसार बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो। सरकारी सेवामा रहेर यस्ता आर्थिक अनियमितता हुनु दु:खद भएको र कानुनबमोजिम कडा कारबाही हुने आयोगले जनाएको छ।

Leave a comment