
जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ।
काठमाडौँमा असार ७ र ८ गते सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले सरकार पूर्ण रूपमा असफल रहेको निष्कर्ष निकाल्दै, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन पुनः विचार गर्ने निर्णय गरेको हो।
बैठक अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको थियो। पार्टीका प्रवक्ता मनिषकुमार सुमनका अनुसार, जसपा नेपालले अब संसदीय दलमार्फत आवश्यक निर्णय लिने छ।
उनकाे भनाइ अनुसार, “सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन, संविधान संशोधन, आर्थिक सुधारजस्ता क्षेत्रमा निराशाजनक प्रदर्शन गरेकोले समर्थन फिर्ता लिनुपर्ने अवस्था आएको छ।”
पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ –
“पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थन बारे पुनः विचार गरी निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ।”
हाल जसपाले सरकारलाई बाहिरबाट समर्थन गरेको छ तर प्रत्यक्ष रूपमा सरकारमा सहभागी छैन। प्रतिनिधि सभामा जसपाका ५ र राष्ट्रिय सभामा ३ जना सांसद छन्। समर्थन दिने निर्णय जसपाको संसदीय दलले गरेकोले, अब निर्णय पनि त्यहीँबाट लिइने प्रवक्ता सुमनले जानकारी दिए।