Join our Channel

जापानको नेपाली दूतावास वडा कार्यालयभन्दा पनि कमजोर! मन्त्री आरजु राणाको संसदमा बयान

जापानको नेपाली दूतावास वडा कार्यालयभन्दा पनि कमजोर! मन्त्री आरजु राणाको संसदमा बयान

परराष्ट्रमन्त्री आरजु राणा देउवाले जापानमा रहेको नेपाली दूतावासको अवस्था अत्यन्तै दयनीय रहेको बताउँदै तत्काल पुनर्संरचना र स्थानान्तरणको आवश्यकता रहेको स्पष्ट पार्नुभएको छ।

सोमबार प्रतिनिधिसभामा परराष्ट्र मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री राणाले जापानस्थित नेपाली दूतावासलाई वडा कार्यालयभन्दा पनि कमजोर अवस्था भएको टिप्पणी गर्नुभयो।

उहाँले भन्नुभयो, “सबैले दुःखका कुरा गरिरहनुभएको छ, मलाई पनि एउटा दुःखको कुरा सुनाउन मन लाग्यो। हाम्रो जापानको दूतावास त कुखुराको खोरजस्तो देखियो। ३ लाख ५० हजार नेपाली छन्, तर काम गर्ने ठाउँ छैन, फाइलको चाङमै सबै थिचिएको अवस्था छ।”

मन्त्री राणाले थप भन्नुभयो, “पहिला आमाको छोरी भएर दूतावास गएकी थिएँ, अहिले मन्त्री भएर गएँ, तर धेरै डिप्रेस भएर फर्किएँ। यो अवस्था ठीक छैन। अब हामीले स्थान परिवर्तन गर्ने निर्णय गरिसकेका छौं।”

उहाँले भारतको दिल्ली र चीनको बेइजिङमा रहेका दूतावासहरूलाई मर्मतसम्भार गर्न आवश्यक रकम विनियोजन गरिएको पनि जानकारी दिनुभयो।

मन्त्री राणाले बजेट पर्याप्त नभएकाले धेरै काम गर्न सकिएको छैन भन्दै आगामी वर्षमा दूतावासहरूको सुधारमा प्राथमिकता दिने सरकारको नीति रहेको बताउनुभयो।

Leave a comment