
काठमाडौँ उपत्यकामा बढ्दो आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले एकैदिन चार फरक अपरेसन सञ्चालन गरी १३ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार मंगलबार मात्रै प्रहरीले विभिन्न अपराधमा संलग्न समूहलाई नियन्त्रणमा लिएको हो।
अपरेसन–१: वृत्त कालिमाटीबाट खटिएको टोलीले धादिङ घर भएका ६ जनालाई मोटरसाइकल चोरी प्रकरणमा पक्राउ गर्यो। उनीहरुसँगै ३ मोटरसाइकल, ६ मोबाइल फोन, ५ हेल्मेट र लक फोड्ने उपकरण बरामद गरिएको छ।
अपरेसन–२: काठमाडौं–२६, गोंगबुस्थित विनोदकुमार श्रेष्ठको घरबाट प्रहरीले रु. ४ करोड २५ लाख ५० हजार नगद, ९.५ केजी सुन र ३.२ केजी चाँदी बरामद गर्यो। उनका छोरा राजकुमार श्रेष्ठको नयाँबजारस्थित भाडाको घरमा समेत छापा मार्दा थप नगद र गहना भेटिएको छ।
अपरेसन–३: नक्कली दुर्घटना खडा गरी बीमा रकम असुल गर्ने गिरोहका ६ जनालाई पक्राउ गरियो। उनीहरूले फर्जी अस्पताल कागजात प्रयोग गरी बीमा ठगी गर्दै आएका थिए।
अपरेसन–४: ठमेलस्थित होटलमा सिरकभित्र लुकाइएका पेस्तोलसहित २१ वर्षीय कर्मसाङ्पो ठकुरी पक्राउ परे। उनले पेस्तोलको तस्बिर र भिडियो सार्वजनिक गरेको सूचनापछि प्रहरीले निगरानी बढाएर पक्राउ गरेको हो।
काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार साँघुरा गल्ली र शंकास्पद स्थानहरूमा निगरानी कडा पारिएको छ।
“एकैदिनमा भएका यी सफल अपरेसनहरूले हाम्रो जिम्मेवारी झन् बढाएको छ,” उनले भने।