
काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले नयाँ बानेश्वर क्षेत्रमा रहेका साना होटेल र रेष्टुरेन्ट व्यवसायमा अनुगमन गरेको छ। अनुगमनको क्रममा अधिकांश व्यवसाय खाद्य मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको छ।
विशेषगरी भान्छाको सरसफाइमा पूर्ण बेवास्ता र किट नियन्त्रणको कमी देखिएको छ।
महानगरपालिका कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले भने,
“संक्रमण सानो लापरबाहीबाट पनि फैलिन सक्छ। सरसफाइमा ध्यान दिनु व्यवसायीकै हितमा पर्छ। महानगर अनुगमन गरेर व्यवसायीलाई तर्साउन चाहँदैन, उपभोक्ता र व्यवसायी दुवैको फाइदा ध्यानमा राखेर निर्देशन दिइएको हो।”
त्यस्तै, खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका सल्लाहकार सन्तोष गिरीका अनुसार, महानगरको मुख्य उद्देश्य व्यवसायीले स्वच्छ रूपमा व्यवसाय सञ्चालन गर्नु र उपभोक्ताले गुणस्तरीय खाद्यवस्तु पाउनु हो।
अनुगमनमा पाइएको कमजोरीहरू:
- पोखरेली लुम्बिनी तन्दुरी भोजनालय: भान्छाको सरसफाइ कमजोर, मास्क/एप्रोन/पञ्जा प्रयोग नभएको, काँचो र पकाइएका वस्तु मिश्रित, म्याद गुज्रिएका वस्तु, खुला डस्टबिन।
- न्यु लुम्बिनी तन्दुरी भोजनालय: सरसफाइ कमजोर, भान्छा संरचना कमजोर, व्यवसाय नवीकरण नगरेको।
- सनराइज बेकरी क्याफे: सरसफाइ सामान्य, खाद्य मापदण्डअनुसार व्यवस्थापन नभएको, फ्रिजमा टाइमकार्ड नभएको।
- अम्बला रेष्टुरेन्ट: किट नियन्त्रण कमजोर, खाना पकाउन प्रयोग भएको तेल टी.पी.एम. ३५ पाइएको।
- सुरेन्द्र पानीपुरी पसल: खाद्य अनुज्ञापत्रविनै संचालन, झोल मापदण्डअनुसार नबनाइएको, फ्रिज अव्यवस्थित।
- के.एम. टेष्टी म:म होटेल: सरसफाइमा बेवास्ता, किरा भेटिएको, भण्डारण अव्यवस्थित, आगोजन्य जोखिम उपकरणको कमी।
- रेसुङ्गा लोकल भान्साघर: तुलनात्मक रूपमा राम्रो, सरसफाइ सामान्य, भण्डारण व्यवस्थित।
महानगरको निर्देशन:
महानगरले मापदण्ड विपरीत सञ्चालन भएका व्यवसायलाई निम्न निर्देशन दिएको छ:
- खाद्य अनुज्ञापत्रमा तोकिएका वस्तु मात्र प्रयोग गर्नु।
- सरसफाइमा विशेष ध्यान दिनु।
- मास्क, एप्रोन, पञ्जा जस्ता खाद्य स्वच्छता मानक पालन गर्नु।
- फोहोर व्यवस्थापनमा डस्टबिन प्रयोग गर्नु।
- व्यवसाय दर्ता समयमा नवीकरण गर्नु।
- मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्नु।
- यथाशीघ्र स्पष्टिकरणसहित महानगरमा उपस्थित हुन।