
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलबीच लामो समयदेखि रोकिएको कार्यपालिका बैठक सञ्चालन गर्न सहमति भएको छ।
बुधबार मेयर शाह, उपमेयर डंगोल तथा वडा नम्बर १५, १७ र ३२ का वडाध्यक्षहरूको उपस्थितिमा भएको छलफलले कार्यपालिका बैठक छिट्टै बोलाउने सहमति गरेको हो।
महानगरका प्रवक्ता एवं वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कार्यपालिका तथा नगरसभा सञ्चालनका लागि आवश्यक तयारी सुरु भएको बताए।
‘मेयरसँग कार्यपालिका र नगरसभा सञ्चालन गर्ने विषयमा स्पष्ट सहमति भएको छ,’ उनले भने, ‘पहिलेदेखि रहेका एजेन्डाहरूमै छलफल गरेर सहमति जुटाइएको हो। अब छिट्टै बैठक बस्नेछ।’
यसअघि आन्तरिक मतभेदका कारण कार्यपालिका बैठक बस्न सकेको थिएन। सहमतिपछि अब काठमाडौं महानगरपालिकाको नीति, कार्यक्रम र बजेटसम्बन्धी छलफल अघि बढ्ने अपेक्षा गरिएको छ।