
काठमाडौं – उपत्यकामा लगातारको वर्षाले बागमती, धोबीखोला लगायतका प्रमुख नदीहरूमा पानीको सतह तीव्र रूपमा बढेको छ।
बिहीबार साँझदेखि जारी वर्षाका कारण कुपन्डोल, अनामनगर र कपन क्षेत्रमा खोलाको पानी सडकसम्म पुगेको छ। केही स्थानमा सवारी आवागमन प्रभावित भएको र सर्वसाधारणलाई हिँडडुल गर्न गाह्रो भएको देखिएको छ।
धोबीखोला कपन जलमापन केन्द्रको शुक्रबार साँझको मापन अनुसार, पानीको सतह सतर्कता तह नजिक पुगेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले नदी किनार आसपास बसोबास गर्ने तथा तटीय सडक प्रयोग गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
यसैबीच, मौसम विभागले जानकारी दिएको छ कि यस वर्षको मनसुन शुक्रबारदेखि देशभर फैलिएको छ। विशेष मौसम बुलेटिनमार्फत विभागले भन्यो, “मनसुन अब देशभर सक्रिय भइसकेको छ।”
मनसुन जेठ १५ गतेदेखि पूर्वी नेपाल हुँदै प्रवेश गरेको थियो। त्यसपछि क्रमशः कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा विस्तार हुँदै गएको थियो। आजदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पनि मनसुन सक्रिय भएको मौसमविद् प्रतिमा मानन्धरले बताएकी छन्।
अबको दिनमा अझै वर्षा बढ्न सक्ने भएकाले सबैलाई सतर्क रहन विभागले आग्रह गरेको छ।